काठमाडौं । राजनीतिक विश्लेषक डा. रुपक सापकोटाले नेपालमा देखिएको पछिल्लो चिनियाँ सक्रियता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मिलाउनभन्दा पनि अरु नै विषयका लागि भएको दाबी गर्नुभएको छ । चीन मामिला जानकार भनेर पनि चिनिएका सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचाऊ नेतृत्वको टोली आइतबार नेपाल आएको घटनाक्रमप्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो ।

पछिल्लो समयमा नेपाल र चीनबीच विकास र समृद्धिका एजेण्डामा विभिन्न सहमति र संझौता भएकाले बदलिँदो राजनीतिक परिस्थितिमा पनि ती कायम नै रहुन् भन्ने चाहना चीनको रहेको डा. सापकोटाको भनाइ छ ।
‘चीनको चासो दुईवटा दल मिलुन् वा नमिलुन् भन्नेमा छैन । उसको चासो नेपालको राजनीति स्थिरता, विकास र समृद्धिमा छ’, नेपाली नेटवर्कसँग आज कुरा गर्दै उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपाल र चीनबीच जे–जस्ता सहमति र सहकार्य हुँदै आएका छन्, विशेषगरी ती आर्थिक क्षेत्रका छन् । त्यसैले, संसद् विघटन र नेकपा फुटले यी सहकार्यमा कस्तो प्रभाव पार्न सक्छ भन्ने बुुझ्न चिनियाँ टोली नेपाल आएको हो ।’
नेपालको आन्तरिक समस्या मिलाउन यहाँकै दल सक्षम रहेकाले त्यसमा बाह्य शक्ति निर्णायक नहुने र हुनुनहुने डा. सापकोटाको तर्क छ ।
‘यद्यपि, नेकपाको फुटले भविश्यमा नेपाल र चीनबीच भएका संझौतामा कस्तो असर पर्ला, भन्ने कुरामा निनियाँ पक्ष सचेत छ’, उहाँले भन्नुभयो, ‘ती संझौंतामा नकारात्मक प्रभाव नपरोस् भन्ने उसको चाहना छ ।’
डा. सापकोटाले नेपालमा चीनको चासो आर्थिक सहकार्र्यसँगै सुरक्षा क्षेत्रमा पनि उत्तिकै रहेको बताउनुभयो ।
यसैबीच, कतिपय विश्लेषकले भने आन्तरिक खिचातानीका कारण दुई टुक्रा भएको नेकपालाई पुनः मिलाउने उद्देश्यले चिनियाँ टोली नेपाल आएको दाबी गरिरहेका छन् । चिनियाँ टोलीको सक्रियताले पनि त्यो देखाएको छ ।
आइतबार आएको चार सदस्यीय चिनियाँ टोलीले सोही दिन नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका कृष्णबहादुर महरालगायत केही नेतालाई भेटेको थियो ।

आज पनि चिनियाँ सक्रियता उत्तिकै छ । टोलीले आज नेकपाका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्ड र नवनियुक्त अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेको छ ।
यसअघि चिनियाँ टोलीले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । खुमलटारपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वरस्थित एभरेष्ट होटल आएको थियो ।
चिनियाँ टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ । त्यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम तय भएको छ ।

डा. रुपक सापकोटा