काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनीतिक रुपमा प्रतिवाद गर्ने बताएको छ । केहीबेरअघि ट्विट गर्दै प्रवक्ता विश्व प्रकाश शर्माले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट हुन आग्रह गर्नुभएको हो ।
‘प्रधानमन्त्रीको कदमलाई कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं’, उहाँले लेख्नुभएको छ, ‘अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ।’
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको थियो । बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुुभएको हो ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद् विघटनको सिफारिस गर्नुुभएको हो । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
यसैबीच, कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दैछ ।
