काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गर्नुभएको छ । उक्त भेटमा नेकपा र भाजपाबीच भाइचारा सम्बन्ध बिस्तार गर्नेबारे छलफल भएको जनाइएको छ ।
यस्तै, चौथाइवाले परराष्ट्र मन्त्री प्रदीपज्ञवालीसँग पनि भेट गर्नुभएको छ । आज बिहान भएको सो भेटका क्रममा नेपाल र भारतबीचका थुप्रै आपसी हितका विषयमा छलफल भएको चौथाइवाले बताउनुभएको छ ।
उहाँले बिहीबार महासचिव पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरिसक्नु भएको छ । चौथाइवाला नेकपा महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आउनु भएको छ ।
पछिल्लो समय छिमेकी राष्ट्र भारतका नेता र कूटनीतिज्ञहरुको नेपाल भ्रमण बाक्लिँदो छ । यसै महिना मात्र भारतीय विदेशसचिव हर्षवद्र्धन श्रींगलाले नेपाल भ्रमण गरेका थिए । उनको भ्रमण फलदायी भएको विश्लेषण गरिएको छ ।