काठमाडौं । हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकम हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष नारायण बजाजले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य तथा खेतान ग्रुपका अध्यक्ष राजेन्द्र कुमार खेतानको समेत उपस्थिति रहेको थियो। देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट भइरहेका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको हिमालयन लाइफले जनाएको छ।
कम्पनीका अनुसार प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको र अहिलेको विपद्का बेला गरिएको ५१ लाख रुपैयाँको सहयोगले प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने विश्वास लिइएको छ।
हिमालयन लाइफले विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार, निजी क्षेत्र, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र सहयोग आवश्यक रहेको जनाएको छ। राष्ट्रलाई आवश्यकता परेको अवस्थामा आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
यसैबीच, हिमालयन लाइफ इन्स्योरेन्सले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूप्रति आभारसमेत व्यक्त गरेको छ।