Sep 01 2026 | २०८३, भाद्र १६ गते

२०८३, भाद्र १६ गते
  • यो साता चर्चामा :
images

बाढीपीडितका लागि फलेवासको साथ, पारिश्रमिक सहित ३७ लाख हस्तान्तरण

बाढीपीडितका लागि फलेवासको साथ, पारिश्रमिक सहित ३७ लाख हस्तान्तरण

  • मंगलवार, भाद्र १६ २०८३

  • 149
    SHARES

  • बाढीपीडितका लागि फलेवासको साथ, पारिश्रमिक सहित ३७ लाख हस्तान्तरण

    पर्वत । यहि भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएकाहरुप्रति फलेवास नगरपालिकाले शोक प्रस्ताव पारित गर्दै उक्त बाढी प्रभावितहरुका लागि करिव ३७ लाख राहत रकम पठाउने निर्णय गरेको छ ।

    सो बाढी प्रभावितहरुका लागि फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । आफुले पाउने सुविधा बापतको सम्पूर्ण रकमबाट नगरका बिभिन्न विद्यालयमा अक्षयकोष स्थापना तथा बिपन्न नागरिकहरुको सेवामा खर्च गर्दै आउनुभएका तिवारीले यसपाली भोटेकोशीमा आएको बाढीप्रभावितको राहतका लागि एक महिनाको सुविधा प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

    तिवारीले आफुले पाउने सुविधा बापतको सम्पूर्ण रकम अक्षयकोषका रुपमा बितरण गर्दै आउनुभएको छ । साथै आज भदौ १६ गते बसेको चालु वर्षको तेस्रो कार्यपालिका बैठकले भोटेकोशी बाढी प्रभावितहरुलाई करिव ३७ लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले गरेको निर्णय अनुसार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बैठकका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले बताउनुभयो ।

    उहाँका अनुसार फलेवासमा कार्यरत सम्पूर्ण कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुको २ देखि ७ दिनसम्मको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न लागिएको हो । त्यसैगरी वडा सदस्यदेखि नगरप्रमुख सम्मको समेत २ हजार देखि ४० हजारका दरले रकम कट्टा गरी राहत स्वरुप पठाउन लागिएको हो ।

    कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार नगरप्रमुख तिवारीको एक महिनाको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ । त्यस्तै नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले उक्त कोषमा १० हजार सहयोग गर्नुभएको छ । कार्यपालिका सदस्यहरुबाट प्रति व्यक्ति रु ५ हजार र वडा सदस्यहरुबाट २ हजारका दरले रकम कट्टा हुनेछ ।

    त्यसैगरी नगरपालिका र माताहतका कार्यालयहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत श्रेणीबिहिन कर्मचारीहरुको २ दिन, चौथो र पाचौं तहमा कार्यरत कर्मचारीहरुको– ५ दिनको तलव कट्टा गरी राहत कोषमा पठाउने निर्णय भएको छ । त्यस्तै छैठौं, सातौं र आठौं तहमा कार्यरत कर्मचारीहरुको– ७ दिन बराबरको तलव बाढी प्रभावितहरुलाई पठाइनेछ ।

    त्यसैगरी विद्यालय सहयोगी, विद्यालय सहजकर्ता र विद्यालय कर्मचारीहरुको– २ दिन, प्राथमिक तृतीय र द्वित्तीय श्रेणी तथा निमावि तृतिय श्रेणीका शिक्षकहरुको– ५ दिन र प्रावि प्रथम, निमावि द्वित्तीय र मावि सबै तहका शिक्षकहरुको– ७ दिन बराबरको तलव गरी करिव ३७ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ ।

    उक्त रकम यसै भदौ महिनाको सेवासुविधा तथा पारिश्रमिकबाट कट्टा गरी राहत कोषमा एकमुष्ठ जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले जानकारी दिनुभयो ।

    सो बिपद्मा परी मृत्यू भएका यस नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकको परिवारलाई काजकृयाखर्च बापत प्रति मृतकको परिवारलाई ५० हजारका दरले र घाइते हुनुभएका व्यक्तिहरुलाई उचित उपचार खर्चबापतको रकम समेत प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिनुभयो ।


    मंगलवार, भाद्र १६ २०८३०६:५६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij