धादिङ । बाढीले घरबार गुमाएका र विस्थापित भएर आश्रयस्थलमा बसिरहेका नागरिकका लागि अभिनेत्री एलिजा गौतम सहयोगको हात लिएर धादिङ पुगेकी छन्। उनले गल्छी गाउँपालिका–३ स्थित धादिङ क्याम्पसमा आश्रय लिएर बसेका बाढीपीडितलाई खाना खुवाएकी हुन्।
गत भदौ १० गते रसुवा, नुवाकोट हुँदै धादिङसम्म आएको बाढीले विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो। बाढीले घर, सडक, पुललगायतका भौतिक संरचनामा क्षति पु¥याउनुका साथै कैयौं परिवारलाई विस्थापित बनाएको छ। बाढीमा परेर केहीले ज्यान गुमाएका छन् भने कतिपय परिवारले आफन्त गुमाएका छन्।
बाढीपछि घरमा बस्ने अवस्था नभएपछि गल्छी–३ स्थित धादिङ क्याम्पसमा आश्रय लिइरहेका परिवारसम्म गौतम पुगेकी हुन्। उनले पीडितहरूसँग भेटेर उनीहरूको अवस्था बुझ्नुका साथै खाना वितरण गरिन्।
विपत्तिको समयमा राहत सामग्रीको आवश्यकता भइरहेका बेला पीडितको आश्रयस्थलमै पुगेर गरिएको उनको सहयोगले तत्कालका लागि प्रभावित परिवारलाई केही राहत दिएको छ। खाना वितरणसँगै पीडितहरूसँगको भेटले उनीहरूको अवस्थालाई नजिकबाट बुझ्ने अवसरसमेत दिएको गौतमले बताएकी छन्।
बाढीले क्षति पु¥याएको केही दिन बितिसके पनि प्रभावित परिवारको समस्या भने सकिएको छैन। घर गुमाएकाहरूलाई पुनःस्थापना, खाद्यान्न र सुरक्षित आवासको आवश्यकता अझै छ। आफन्त गुमाएका परिवारका लागि विपत्तिको पीडा झनै गहिरो छ।यस्तो अवस्थामा गौतमको धादिङ आगमन र पीडितलाई खाना खुवाउने पहल राहतभन्दा पनि मानवीय ऐक्यबद्धताको सन्देशका रूपमा हेरिएको छ।
विपत्तिमा परेका नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको स्थानीयको भनाइ छ। राज्यका निकाय, सामाजिक संघसंस्था र व्यक्तिगत तहबाट हुने सहयोगले प्रभावित परिवारलाई सामान्य जीवनमा फर्किन केही सहज हुने अपेक्षा गरिएको छ।