काठमाण्डौ । भोटेकोशीको बाढीमा बगेर चितवन पुगेका र पहिचान नखुलेका शवहरूको सुरक्षित व्यवस्थापन शुरु गरिएको छ ।
शवहरू अत्यधिक सडेगलेर दुर्गन्ध फैलिई महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णयअनुसार आज दिउँसोदेखि भरतपुरको रामनगर र देवघाटबीचको जङ्गल क्षेत्रमा शव गाड्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनमा संकलन गरिएका २ सय ३३ शवमध्ये ६ वटा मात्रै आफन्तको जिम्मा लगाइएको छ । बाँकी शवहरूलाई भने भविष्यमा आफन्तले दाबी गर्न आएमा सहजै उत्खनन गर्न सकिने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति ९आइसीआरसी० को वैज्ञानिक मापदण्ड अपनाएर व्यवस्थापन भइरहेको छ ।
प्रक्रिया अनुसार, हरेक शवको डीएनए नमुना सङ्कलन गरी विशेष ब्यागमा साङ्केतिक नम्बरसहित डेढ मिटर गहिरो खाडलमा पुरिनेछ । शव गाडिएको ठाउँको जीपीएस म्यापिङ गर्नुका साथै बाहिरपट्टि साङ्केतिक नम्बर अङ्कित कङ्क्रीटको स्ट्यान्ड खडा गरिनेछ ।
बेपत्ताका आफन्तले आफ्नो जिल्ला अस्पतालमा दिएको डीएनए नमुना यी शवहरूसँग मिलेमा, चितवन आएर प्रहरीको रोहबरमा शव खनेर बुझिलिन सक्ने व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।