Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ रास्वपाभित्रको असुन्तुष्टि पार्टी बैठकमा बिष्फोट, होहल्ला मात्रै भएको सांसदहरु र प्रहरीको दाबी (खास खबर)

सत्तारुढ रास्वपाभित्रको असुन्तुष्टि पार्टी बैठकमा बिष्फोट, होहल्ला मात्रै भएको सांसदहरु र प्रहरीको दाबी (खास खबर)

  • आइतवार, जेठ १० २०८३

  • 300
    SHARES

  • सत्तारुढ रास्वपाभित्रको असुन्तुष्टि पार्टी बैठकमा बिष्फोट, होहल्ला मात्रै भएको सांसदहरु र प्रहरीको दाबी  (खास खबर)

    काठमाडौं । सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठकमा हात हालाहाल भएको छ । पहिलो पटक सरकारको नेतृत्व गरिरहेको रास्वपामा प्रवेश गर्ने नेता कार्यकर्ता र समर्थकको भिड व्यवस्थापनमै चुनौती देखिएको बेला पार्टीभित्रको असन्तुष्टि बैठकमै विस्फोट हुँदा कुटाकुटको अबस्था सिर्जना भएको हो ।

    रास्वपाका नेता कार्यकर्ताबीच हात हालाहाल हुँदा रास्वपाकै दुई जना पालिका सभापतिसहित तीन जना घाइते भएका छन् । रास्वपाका चार जना सांसदहरु सहभागी विस्तारित बैठकमा गुण्डागर्दी शैलीमा आक्रमण भएको कारबाहीमा पर्नु भएका रास्वपा बारा जिल्लाका सभापति चन्दन स्वर्णकारले बताउनु भयो ।

    रास्वपाले पार्टीबाट निश्कासन गरे पछि तदर्थ समिति गठन गर्न आज बाराको कलैयामा विस्तारित बैठक बसेको थियो । पार्टी विस्तारसँगै नयाँ प्रवेशीको चाप बढिरहेको, स्थानीय तह निर्वाचनको टिकट वितरणलाई लिएर असन्तुष्टि चुलिएको र पुरानो तथा नयाँ समूहबीच अविश्वास बढिरहेको अवस्थामा बसेको बैठक सुरुदेखिनै तनावग्रस्त बनेको थियो । हल सानो, माइक नसुनिने भएकाले केहीबेर होहल्ला मात्र भएको बैठकमा उपस्थित रास्वपा सांसद गणेश धिमालले दाबी गर्नु भयो ।

    रास्वपा कार्यकर्ताहरुले सांसदहरुलाई स्टेजबाट लखेटेको र सांसदहरु भागेको चर्चा छ । बैठकमा सहभागी कार्यकर्ताहरुबीच नाराबाजी, धकेलाधकेल र आरोप प्रत्यारोप चर्किएपछि कार्यक्रम स्थल केहीबेर अनियन्त्रित बनेको थियो । तर, सांसदहरुले भने दुई जना काम विशेषले बाहिर निस्केको अरु स्टेजमै बसेको दाबी सुनाएका छन् । विस्तारित बैठकमा सहभागी रास्वपा सांसद अरविन्द शाहले आफूहरु भागेको भन्ने कुरा गलत भएको बताउनु भयो ।

    रास्वपाभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । सरकारको नेतृत्वमा पुगेपछि पार्टीभित्र अवसर खोज्नेहरुको संख्या बढ्दै जाँदा संगठन व्यवस्थापन कमजोर बनेको आरोपसमेत लागिरहेको छ । बैठकमै कुटाकुट हुने अबस्था सिर्जना भएको छ । कार्यकर्ताहरुले आफ्नै सांसदहरु लखेटेको आरोप लागेको छ । तर, रास्वपाको कारबाहीमा परेमा जिल्ला सभापति चन्दन स्वर्णकार सांसदहरु नै गुण्डा लिएर उपस्थित भएको आरोप लगाउनु भयो ।

    विवादको चुरो कुरो स्थानीय तह निर्वाचनमा पार्टीको टिकटलाई लिएर भएको रास्वपाका दुबै पक्षको दाबी छ । पार्टीभित्र टिकट वितरणमा आर्थिक चलखेल भएको आशंका र अवसरको राजनीति मौलाएको भन्दै कार्यकर्ताहरु खुलेरै असन्तुष्टि पोख्न थालेका छन् । सांसदहरुले पैसामा टिकट बिक्री गरेको आरोप रास्वपा कार्यकर्ताले लगाएका छन् । जुन कुरा सत्य नभएको रास्वपा सांसद गणेश धिमालले बताउनु भयो ।

    गत फागुन २१ को चुनावमा अप्रत्यासित नतिजा हात पारेको रास्वपामा नेता कार्यकर्ताको बाढी लागेको छ । पहिलो पटक सरकारको नेतृत्वमा पुगेपछि रास्वपामा प्रवेश गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । तर, ती नयाँ प्रवेशी र पुराना कार्यकर्ताबीच जिम्मेवारी बाँडफाँट, टिकट आकांक्षा र संगठनको प्रभाव क्षेत्रलाई लिएर बढ्दो असन्तुष्टि व्यवस्थापन गर्न हम्मे हम्मे परेको देखिएको छ । पुरानालाई कारबाही गर्ने र नयाँलाई स्वागत गर्ने तयारीले पार्टीको विस्तारित बैठकमा भाडभैलो मच्चिएको छ । बारा जिल्लामा खराब गतिविधि भएको भन्दै रास्वपाले पुरानो समिति खारेज गरेको छ । त्यसकै विवाद आजको विस्तारित बैठकमा पोखिएको रास्वपा सांसद अरबिन्द शाहले बताउनु भयो ।

    विवादपछि भएको हात हालाहालको अबस्थाले दुई जना घाइते नै भएका छन् । बैठकमा असन्तुष्ट पक्ष र नेतृत्व पक्षबीच चर्किएको तनावले कुनै बेला ठूलो दुर्घटना निम्तिने अवस्था देखिएको सहभागीहरुको भनाइ छ । तर, रास्वपाका सांसदहरु सामान्य विवाद मात्रै भनिरहेका छन् । असन्तुष्ट पक्षलाई पनि बोलाइएको बैठकले तदर्थ समिति गठन गर्ने निर्णय गरेको सांसद शाहले बताउनु भयो ।

    कलैयास्थित करण पार्टी प्यालेसमा आयोजित बैठकमा टिकट बिक्रीको विषयलाई लिएर असन्तुष्ट पक्ष उग्र बनेपछि तनाव सिर्जना भएको हो । धकेलाधकेलदेखि हात हालाहालको अबस्थाले रास्वपाको विस्तारित बैठकमा सहभागी सांसदहरू गणेश धिमाल, चन्दन सिंह, अरविन्द साह र रहबर अन्सारीसहित केन्द्रीय प्रतिनिधि कामनी चौधरी भाग्ने अबस्था आएको थियो । तर, दुई जना घाइते हुने गरी भएको घटनालाई प्रहरीले पनि होहल्ला मात्रै भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एपी नरेन्द्र कुँवरले दुई जना घाइते भएको जानकारी आएको बताउनु भयो । तर, कुटाकट भएको भन्ने कुरा सत्य नभएको उहाँले बताउनु भयो ।

    रास्वपाको आन्तरिक झगडा विस्तारित हुँदै कुटाकुटसम्म पुगेको देखिएको छ । सरकारको नेतृत्व गरेको रास्वपाले प्रवेश गर्नेहरुलाई व्यवस्थापन गर्न नसक्दाको पहिलो खुला दृश्य बाराको विस्तारित बैठकमा देखिएको छ । हरेक वडा वडामा अधिवेशन गर्दै आएको रास्वपाभित्र स्थानीय तहको टिकटलाई लिएर पाखुरा सुर्कने, नपाए हातपातमै उत्रने अबस्थाले नेतृत्वमाथि थप चुनौती खडा भएको छ ।


    आइतवार, जेठ १० २०८३०३:११:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij