काठमाडौं । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले पार्टी विभाजनको संघारमा नरहेको र आगामी १५औं महाधिवेशन एकताबद्ध भएरै सम्पन्न हुने दाबी गरेका छन्।
नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै नेता पाण्डेले विशेष महाधिवेशनपछि देखिएको मतभेद संवादमार्फत समाधान हुने बताएका हुन्। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको समितिलाई वैधानिकता दिइसकेको अवस्थामा अब सभापतिले सबैलाई मिलाएर लैजानुपर्ने उनको भनाइ छ। नयाँ पार्टी खोल्ने हल्ला केवल सामाजिक सञ्जालको अफवाह मात्र रहेको र आफ्नो त्यसमा कुनै रुचि नरहेको बताएका छन् ।
वर्तमान सरकारको कार्यशैलीप्रति लक्षित गर्दै उनले प्रधानमन्त्रीले संसदमा जवाफदेहिता नदेखाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ’काम मात्र गर्छु’ भनेर संसदमा नबोल्ने र नीति तथा कार्यक्रममा समेत उपस्थित नहुने प्रवृत्ति लोकतान्त्रिक नभएको भन्दै उनले सरकारप्रति जनताको शंका बढ्न थालेको औंल्याए।
यसैगरी, बाजुरा र हुम्लाको सीमा क्षेत्र रानीसैन (लाम्पाटा) मा भइरहेको झडप र तनावबारे बोल्दै नेता पाण्डेले सो क्षेत्रमा सुरक्षा चौकी निर्माण गर्न लाग्दा आक्रमण भएको बताए। तस्करी र अवैध गतिविधि रोक्न तथा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए। दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र सो क्षेत्रको दीर्घकालीन सुरक्षा तथा पर्यटकीय विकासका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निरन्तर दबाब दिइरहेको उनले स्पष्ट पारेका छन्।