काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सासंद तथा अधिबक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेको विकल्पमा अहिलेको अवस्थामा कोही पनि नेता नरहेको स्पष्ट पार्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ‘नेपाली बहस’ मा कुरा गर्दै सांसद न्यौपानेले पार्टीको आसन्न आन्तरिक समीकरण र समसामयिक राष्ट्रिय राजनीतिक विषयमा रास्वपाको आधिकारिक दृष्टिकोण सार्वजनिक गर्नुभएको हो ।
उहाँले पार्टीको आगामी साङ्गठनिक स्वरूप र पदाधिकारी चयन प्रक्रियाका विषयमा समेत महत्वपूर्ण खुलासा गर्नुभयो । रास्वपाभित्र लोकतान्त्रिक विधि बलियो रहेको दाबी गर्दै उहाँले विधानअनुसार नै आगामी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको चयन गरिने बताउनुभयो । यो प्रक्रियालाई व्यवस्थित बनाउन दुई चरणमा निर्वाचन प्रणाली अवलम्बन गरिनेसमेत उहाँले जानकारी दिनुभयो। पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चाको विषय बनेको प्रधानमन्त्रीको चिज सँगको फोटोका विषयमा टिप्पणी गर्दै सांसद न्यौपानेले यसलाई सकारात्मक रूपमा लिनुपर्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले त्यसरी फोटो खिचाउनु र सार्वजनिक गर्नु भनेको मौलिक नेपाली खाना र उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्नु हो, यसलाई संकुचित सोचले हेर्नु हुँदैन।“
कानुन व्यवसायी पृष्ठभूमिका सांसद न्यौपानेले राज्यका प्रमुख अङ्गहरूको शक्ति सन्तुलन र न्यायपालिकाको गरिमाका विषयमा समेत कडा धारणा राख्नुभयो। न्यायपालिकाको क्षेत्राधिकार र यसको स्वतन्त्रता सर्वोपरी हुनुपर्नेमा जोड दिँदै उहाँले न्यायपालिकाको सीमा कसैले पनि नाघ्न नसक्ने र नाघ्न नहुने स्पष्ट पार्नुभयो ।