Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पाल्पा–१ का सांसद रानालाई काठमाडौंमा सम्मान

पाल्पा–१ का सांसद रानालाई काठमाडौंमा सम्मान

  • शनिवार, बैशाख १९ २०८३

  • 623
    SHARES

  • पाल्पा–१ का सांसद रानालाई काठमाडौंमा सम्मान

    काठमाडौँ । पाल्पा–१ का सांसद सन्दीप रानालाई काठमाडौंमा सम्मान गरिएको छ। नेपाली कांग्रेस पाल्पा–काठमाडौं समितिद्वारा आयोजित कार्यक्रममा उहाँलाई पार्टीका महामन्त्री प्रदीप पौडेल मार्फत सम्मान गरिएको हो।

    कार्यक्रममा सांसद रानालाई बधाई दिँदै महामन्त्री पौडेलले कांग्रेसका सांसदहरूको जिम्मेवारी अहिले अझ धेरै रहेको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, “झण्डै दुई तिहाइको सरकार छ, त्यसले कतिपय गलत कामलाई पनि संख्याको बलमा जबरजस्ती गर्न सक्छ। त्यसको डटेर सामना गर्नु पर्दछ, जनतालाई बुझाउन सक्नु पर्दछ। त्यसका लागि म सन्दीपजीलाई सक्रिय, अनुकरणीय र देखिने भूमिकाका लागि शुभकामना व्यक्त गर्दछु।”

    उहाँले सुकुम्बासी बस्तीमा डोजर लगाइएको विषय पर्याप्त समय र सूचना नदिई गरिएको भन्दै मानवीय र व्यवहारिक नभएको टिप्पणी गर्नुभयो। महामन्त्री पौडेलले सुकुम्वासी बस्तीमा सुकुम्बासी नै थिएनन्, हुकुम्वासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर पुनस्र्थापनाको विकल्प तयार पारेपछि मात्रै हटाउनु पर्नेमा जोड दिनुभयो।

    उहाँले संवैधानिक परिषद्लाई सर्वपक्षीय र सन्तुलित बनाउनु पर्ने राज्यको आधारभूत मर्मभित्रको विषय भएकाले एकपक्षीय हुनेगरी पुनर्संरचना गर्नु गलत भएको तर्क गर्नुभयो। लोकतान्त्रिक मूल्य–मान्यता र राज्यका आधारभूत मर्मलाई खलबल्याउन नपाइनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।

    कार्यक्रममा पार्टीका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले झण्डै दुई तिहाइको सरकारलाई खबरदारी गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझ बलियो र चुस्त हुनुपर्ने आवश्यकता औंल्याउँदै अब पार्टीलाई एकताबद्ध बनाएर लैजान नेतृत्वले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। अदालत, निर्वाचन आयोगजस्ता निकायले कांग्रेसको विवाद निरुपण गरिसकेकाले अब पार्टीभित्र विवाद गर्नुको औचित्य नरहेको उहाँको भनाइ थियो।

    कार्यक्रममा सम्मानित सांसद रानाले आफू निर्वाचित हुनुमा लामो समयदेखि पार्टीमा योगदान गरेका अग्रजहरूको ठूलो भूमिका रहेको बताउँदै उहाँहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आफ्नो जित व्यक्तिगत नभई समग्र पाल्पालीको जित भएकाले पाल्पा र देशको विकास तथा राम्रो नीति निर्माणका पक्षमा आफ्नो क्षमताले भ्याएसम्म सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    सम्पर्क समितिकी अध्यक्ष विमला बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार हुनुभएका पाल्पाका नेताद्वय कृष्णप्रसाद अधिकारी र जमिला मियाँले पार्टीको समानुपातिकतर्फको मत कम भएकाले आफूहरू निर्वाचित हुन नपाए पनि प्रत्यक्ष निर्वाचित रानाको जितले आफूहरूलाई सन्तुष्टि र गौरव महसुस गराएको अनुभव सुनाउनुभयो।
    aa3bc044-2d16-4049-a693-6e2f38a9bae2.jpg


    शनिवार, बैशाख १९ २०८३०८:३९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij