Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पार्टीभित्रका सबै शक्ति केन्द्रहरूलाई समेटेर अगाडि बढ्नुपर्नेमा घिमिरेको जोड

पार्टीभित्रका सबै शक्ति केन्द्रहरूलाई समेटेर अगाडि बढ्नुपर्नेमा घिमिरेको जोड

  • मंगलवार, बैशाख ८ २०८३

  • 224
    SHARES

  • पार्टीभित्रका सबै शक्ति केन्द्रहरूलाई समेटेर अगाडि बढ्नुपर्नेमा घिमिरेको जोड

    काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्रका सबै शक्ति केन्द्रहरूलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँग कुरा गर्दै नेता घिमिरेले सर्वोच्च अदालतको फैसलापछि गगनकुमार थापालाई सभापति स्वीकार्नु पर्ने र पार्टीभित्रको आन्तरिक लोकतन्त्रका लागि सबै पक्षको सहभागिता अनिवार्य रहेको उल्लेख गर्नुभयो। अहिले कांग्रेसमा गगन थापा, डा. शेखर कोइराला र पूर्णबहादुर खड्काका तीनवटा शक्ति केन्द्र सक्रिय रहेको भन्दै उहाँले दुईवटा पक्षलाई बाहिर राखेर पार्टीमा बृहत्तर एकता सम्भव नहुने तर्क गर्नुभयो। विशेष महाधिवेशनपछि पूर्णबहादुर खड्का पक्ष रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै उहाँले राजनीतिमा पावर सेयरिङ प्राकृतिक प्रक्रिया भएकाले यसलाई भागबन्डाभन्दा पनि सहभागिताको रूपमा बुझ्न आग्रह गर्नुभयो ।

    यस्तै उहाँले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै गृहमन्त्रीले हतारमा प्रतिशोधपूर्ण ढङ्गले नेताहरूलाई पक्राउ गरेको तर कानुनी आधार नपुग्दा अदालतबाट उनीहरू छुटेकाले सरकारको नियतमाथि प्रश्न उठेको बताउनुभयो। सुशासनको नारा दिने सरकारले आफ्नै मन्त्रीहरूको सम्पत्ति विवरण र बिचौलियासँगको सम्बन्धबारे उठेका प्रश्नमा गम्भीर छानबिन गर्नुपर्ने उहाँको माग छ ।

    यस्तै, बजारमा बढ्दो महँगी र इन्धनको मूल्यवृद्धिलाई अन्तर्राष्ट्रिय संकटको प्रभाव मान्दै उहाँले सरकारले आर्थिक सुधारका योजना ल्याए पनि त्यसको कार्यान्वयन र राजनीतिक इमानदारितामा अझै सुधारको खाँचो रहेको औँल्याउनुभयो। आगामी महाधिवेशन र स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टीभित्रको द्वन्द्व अन्त्य गरेर वडा तहसम्मै एकताको सन्देश लैजानु अहिलेको मुख्य आवश्यकता रहेको उहाँको भनाई छ ।


    मंगलवार, बैशाख ८ २०८३०८:२९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij