काठमाडौं - जेनजी आन्दोलनले विघटन गराएको प्रतिनिधिसभा भोलिदेखि ब्युँतिने भएको छ । नयाँ प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको पहिलो औपचारिक बैठक भोलि बस्दैछ ।
भोलि दिउँसो २ बजे बस्ने पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने, सभामुख चयनको दिन तोक्नेदेखि तीन वटा अध्यादेश पेस गर्ने र शोक प्रस्ताव प्रस्तुत गर्नेसम्मको सम्भावित कार्यसूची आज सार्वजनिक भएको छ ।
प्रतिनिधिसभाको बैठक पुरानै नियमावली २०७९ अनुसार नै सञ्चालन हुने भएको छ । नयाँ नियमावली नबनाएसम्मको लागि पुरानै नियमावली अनुसार कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत हुने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री एवं सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
भोलिको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले आ आफ्नो मन्तव्य राख्ने सम्भावित कार्यसूची छ । नेकपा एमालेले संसद् बैठक बस्ने अघिल्लो दिन जबरजस्त माओवादी युद्धका सैन्य कमान्डर बादललाई संसदीय दलको नेता चयन गरेको छ ।
दलको नेतामा इलाम २ बाट निर्वाचित सुहाङ नेम्वाङले दाबी गर्नु भएको थियो । एमालेले नेम्वाङलाई दबाबमा उम्मेदवारी फिर्ता लिन लगाएर बादललाई दलको नेता मात्रै होइन, केपी शर्मा ओली हिरासतमा रहेकाले पार्टीको कार्यवाहक अध्यक्ष नै चयन गरेको छ । एमालेमा दलको नेता चयनमा भने रमिता भने देखिएको छ ।
प्रस्तावक र समर्थक नै नपाएर उम्मेदवारी फिर्ता लिएको हल्लालाई भने नेम्वाङले खारेज गरिदिनु भएको छ । उहाँले कुनै दबाबमा आफूले उम्मेदवारी फिर्ता नलिएको बताउनु भयो ।
प्रतिनिधिसभामा सशस्त्र युद्धका कमान्डर पुष्पकमल दाहाल प्रचण्ड र सैन्य कमान्डर बादल फरकफरक दलबाट दलको नेताका रूपमा सहभागी हुनुहुनेछ । संख्याका हिसाबले एमालेसँग २५ सिट छ । प्रचण्डसँग १७ सदस्य मात्रै छन् ।
बादल भन्दा पनि कमजोर उपस्थिति प्रचण्डको रहनेछ । एमाले अध्यक्ष ओली पक्राउसँगै आक्रोशित बनेको छ, सदनमा भने निरीह रूपमा प्रस्तुत हुने भएको छ । आज बसेको सर्वदलीय बैठकमा एमालेसहित अरू कुनै पनि दलले अवरोधको सूचना नदिएकोले संसद् बैठक सहज रूपमा सञ्चालन हुने रास्वपाका सांसद कविन्द्र बुर्लाकोटीले बताउनु भयो ।
एमालेको आजै बसेको संसदीय बैठकले पनि संसदमा कुनै अवरोध नगर्ने निर्णय गरेको छ । ओली पक्राउको विषयमा सरकारलाई प्रश्न भने सोध्ने दलको नेतामा चुनिनु भएका बादलले बताउनु भयो ।
अघिल्लो संसदमा कमजोर प्रतिपक्ष रहेको रास्वपा फागुन २१ को चुनावी परिणामले बलियो सत्ता पक्षको रूपमा उभिएको छ । झन्डै दुई तिहाइ बहुमतको सरकारले गठन भएकै भोलिपल्ट पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर हिरासतमा राखेको छ । लेखकको आजदेखि बयान लिन सुरु भएको छ भने ओली स्वास्थ्य अवस्थाका कारण अस्पतालमै हुनुहुन्छ ।
प्रहरीले ५ दिनका लागि अदालतबाट लिएको अनुमति भोलि नै सकिदैछ । ओलीको बयान नै सुरु नभएकाले भोलि पुन म्याद थपका लागि अदालतसँग अनुमति लिने तयारी प्रहरीले गरेको छ । ओली हिरासतमै रहँदा एमालेले दलको नेता मात्रै होइन, पार्टी अध्यक्षको जिम्मेवारी पनि बादललाई दिएको छ ।
तर, अर्को प्रतिपक्षी नेपाली कांग्रेसले भने आजसम्म संसदीय दलको नेता चुन्न सकेको छैन । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व गुट चलाएर जग हँसाइरहेका पूर्ण बहादुर खड्का र शेखर कोइरालाको पेलाइमा परेको छ ।
कांग्रेसमा ज्येष्ठ सदस्यका रूपमा सभामुखको भूमिका रहनु भएका अर्जुननरसिंह केसीले दलको नेतामा दाबी गरेकाले नेता चयन हुन नसकेको कांग्रेस नेताहरू बताउँछन् । दलको नेता चयन गर्नेबारे टुङ्गोमा नपुगेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताउनु भएको छ ।
अन्योल, अस्थिरथाकाबीच चुनाव सम्पन्न भएर देश संवैधानिक लयमा फर्किएको छ । गत भदौ २७ गते विघटन भएको संसद् ब्युँतिएको छ । अब संसद्ले आफ्नो भूमिका अनुसार कानुन निर्माण गर्ने र सरकारका काममा जनताको आवाज बोल्ने अपेक्षा गरिएको छ ।