Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको १५ महाधिवेशनको मिति प्रस्ताव, देउवा समूह रिजर्भ (खास खबर)

कांग्रेसको १५ महाधिवेशनको मिति प्रस्ताव, देउवा समूह रिजर्भ (खास खबर)

  • मंगलवार, चैत्र १० २०८२

  • 276
    SHARES

  • कांग्रेसको १५ महाधिवेशनको मिति प्रस्ताव, देउवा समूह रिजर्भ (खास खबर)

    काठमाडौं - जेनजी आन्दोलनपछि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अध्याय सकिएको छ । चुनावी परिणाम सार्वजनिक भएसँगै सबै भन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकार गठनको तयारीमा लागेको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीको नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    भदौ २४ देखि २६ सम्म महाधिवेशन गर्ने प्रस्ताव विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गरेको छ । निर्वाचन परिणामले थला परेको कांग्रेस अब आन्तरिक सङ्गठन सुदृढीकरणमा लागेको छ ।

    विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाले आफू हारेर भए पनि कांग्रेसलाई लज्जास्पद हारबाट जोगाउन सफल भएको भन्दै वाहवाही पाउनु भएको छ ।

    पदका लागि मरिहत्ते गर्ने विगतको परम्परा तोड्दै सभापति थापाले पार्टीको नियमित महाधिवेशनको मिति नै तोक्नु भएको हो । अब चुनावको समीक्षा नियमित महाधिवेशनबाटै छिनोफानो हुने सभापति थापाले बताउनु भएको छ । 

    चुनावको मिति घोषणा भएपछि पुस २७ देखि ३० सम्म काठमाडौँमा भएको विशेष महाधिवेशनले सभापतिमा गगन कुमार थापालाई निर्वाचित गरेको थियो । थापा नेतृत्वमा कांग्रेसले चुनावमा भाग लियो । नजिता कसैले सोचे जस्तो आएन, जुन जगजाहेर छ । पार्टी सभापति थापाले नै चुनावमा पराजय भोग्नु पर्‍यो ।

    देशको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेस राष्ट्रको चुनाव सकेर अब आफ्नै आन्तरिक चुनावी अभियानमा लागेको छ । चुनावमा गरेका प्रतिबद्धतालाई सरकार बनाउने नेतृत्वमा नपुग्दा पनि नभुल्ने बाचा गरेको छ ।

    सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई जनताको पक्षमा गर्ने असल काममा साथ दिने कांग्रेसले घोषणा गरेको छ । नियमित महाधिवेशनको तयारीमा लागेको कांग्रेसले विशेष महाधिवेशनलाई लिएर पक्षपात नहुने प्रस्ट पारेको छ । सभापति थापाले अब गाडी अगाडि बढेको र नरोकिने बताउनु भयो । 

    विशेष महाधिवेशनदेखि नै कांग्रेसमा दुई समूह स्पष्ट रूपमा देखिएका छन् । पूर्वसभापति शेरबहादुर देउवा समूह विशेष महाधिवेशनपछि चिढिएको छ । पार्टीको आधिकारिकतामा दाबी गर्दै निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुगेको देउवा समूहले नियमित महाधिवेशनको मिति तोकेसँगै रिजर्भमा बसेको छ । देउवा समूहका नेता विमलेन्द्र निधिले आफ्नो कुनै प्रतिक्रिया नरहेको बताउनु भएको छ । 

    तर, कांग्रेस नियमित महाधिवेशनतर्फ मोडिएको छ । क्रियाशील सदस्यता वितरण र २१ चैतदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने भएको छ कांग्रेसले । वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने, प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्नेछ ।

    जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाइसक्नुपर्ने छ भने १५ असारसम्म केन्द्रले  सदस्यतामा आवश्यक छानबिन गरी टुङ्ग्याउने तयारी कांग्रेसको छ । विशेष महाधिवेशनलाई लिएर विभाजित कांग्रेस नियमित महाधिवेशनको मिति तोकिएसँगै ङवार ङुर्र नगरी एक ढिक्का भएर लाग्नु पर्ने कांग्रेस नेता रामहरि खतिवडाले बताउनु भयो । 

    कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको जिम्मेवारी थपिएको छ । पार्टीलाई एकढिक्का गराएर संसदमा प्रमुख प्रतिपक्षीको भूमिका एकसाथ निर्वाह गर्नुपर्ने अवस्था छ ।

    सभापति थापाले सुशासन कायम गराउन पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाउनु भएको छ । ललिता निवासदेखि नेताको निवासमा जलेका पैसाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने काममा सहयोग रहने थापाले बताउनु भएको छ । 

    निर्वाचनमा अहिलेसम्मकै कमजोर नतिजा ल्याएको कांग्रेस नियमित महाधिवेशनमा लागेको छ भने सरकारको काम कारबाही र संसदमा बलियो प्रतिपक्षीको रूपमा उभिनु पर्ने अवस्थामा छ । जुन काम अव फुटेर होइन, जुटेर नै सार्थक बनाउनु पर्ने दायित्व कांग्रेसमाथि छ । 


    मंगलवार, चैत्र १० २०८२०८:१८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij