Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देशभर एकसाथ मतदान हुँदै, सम्पूर्ण तयारी पुरा (खास खबर)

देशभर एकसाथ मतदान हुँदै, सम्पूर्ण तयारी पुरा (खास खबर)

  • बुधवार, फाल्गुण २० २०८२

  • 372
    SHARES

  • देशभर एकसाथ मतदान हुँदै, सम्पूर्ण तयारी पुरा (खास खबर)

    काठमाडौं - प्रतिनिधिसभा सदस्य चयनका लागि भोली बिहीबार देशभर एकैसाथ मतदान हुँदैछ । भोलि बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । १६५ निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म मतदान हुनेछ । 

    यो निर्वाचनले आगामी पाँच वर्षका लागि सङ्घीय संसद्को स्वरूप निर्धारण गर्नेछ । अब मतदाताको निर्णयले कसको संसदीय भाग्य उज्यालो हुने र कसको राजनीतिक यात्रा यहीँ रोकिने भन्ने टुङ्गो लाग्नेछ । निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेका छन्। 

    भेटमा समसामयिक राजनीति र भोलि हुन गइरहेको  प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४०५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

    राष्ट्रिय सुरक्षा परिषद्को बैठकले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायहरूलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने छलफल भएको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए। 

    गृह मन्त्रालयले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र छिटफुट घटना बाहेक देशभरि शान्तिपूर्ण वातावरण कायम रहेको जानकारी दिएको छ । 

    निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । सबै सुरक्षा संयन्त्रहरू मतदान स्थल पुगिसकेका छन् । नागरिक सरकारले गराएको यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा सुदृढ हुने दाबी गृहमन्त्री ओम प्रकाश अर्यालले बताएका छन् । गृहमन्त्री अर्यालले निर्वाचन अवधिमा कुनै पनि गैरकानुनी वा अवाञ्छित गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गरिने गृहमन्त्री अर्यालले चेतावनी दिए ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आज राति १२ बजेदेखि अति आवश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । 

    अत्यावश्यक सेवा तथा निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुनेछन् । मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालन गर्न पाइनेछैन । 

    यातायातका साधन बन्द भए पनि हवाई उडान भने सञ्चालन हुनेछन् । भोलि आन्तरिक उडान नियमित झैँ सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

    निर्वाचन आयोगले भोलि हुने प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । आज आयोगमा पत्रकार सम्मेलन गरेर आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।   

    आयोगले मतदान सम्पन्न भएको २४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको जनाएको छ । आयोगले मतदान अगाडि गरिने कुनै पनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजितको घोषणाप्रति आपत्ति जनाएको छ । मतदाताले मत खसाल्नै नपाइ बाहिरबाटै परिणाम घोषणा गर्ने परिपाटीप्रति आयोग संवेदनशील रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।  

    ३ घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा तारजाली र सिसिटिभी लगायतको सुरक्षा प्रबन्ध गरिएको छ । भोलि हुने प्रतिनिधिसभा निर्वाचनको हेलिकप्टर गस्ती गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिको बैठकले गरेको छ ।

     

    सेनाको हेलिकप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकप्टरबाट पनि गस्ती गर्ने गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिइन ।

    उपसचिव आचार्यले मतपेटिका सङ्कलन गरेर मतगणनास्थलसम्म ल्याउने काममा नेपाली सेनालाई जोडेर आएका समाचारको खण्डन पनि गरिन ।  

    नेपाली सेनाले पनि आम जनमानसमा अपिल गरेको छ । प्रतिनिधि सभा चुनावमा नेपाली सेनाले २०४८ सालदेखि निभाउँदै आएको भूमिका नै निर्वाह गर्ने प्रवक्ता सहायकरथी राजाराम बस्नेतले जानकारी दिए ।  

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन भोलि मौसम सफा रहने जनाएको छ । मौसमविद् डेभिड ढकालले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जानकारी दिए । 

    भोलि हुन गइरहेको निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण अभ्यास हो । यस्तो अवस्थामा मतदाताले भावनामा होइन, विवेकमा आधारित भएर मतदान गर्नु पर्ने प्रशासनविद् काशीराज दाहालले सुझाव दिए । 

    क्षणिक प्रलोभन, हल्ला र दबाबका आधारमा निर्णय गर्नु लोकतन्त्रका लागि घातक हुन सक्छ । लोकतन्त्रको सुदृढीकरणका लागि प्रत्येक मत महत्त्वपूर्ण छ । त्यसैले, भोलि मतदान केन्द्रमा जाँदा आफ्नो अधिकारको प्रयोग मात्र होइन, जिम्मेवारी पनि सम्झेर सुझबुझका साथ ढुक्क भएर मतदान गरौँ ।

     


    बुधवार, फाल्गुण २० २०८२०९:०२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij