काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले जेनजी आन्दोलन र समयको माग अनुसारको नेतृत्व आएको बताउनु भएको छ । उहाँले गगन थापाको नयाँ र ऊर्जावान् नेतृत्व पाएसँगै अब मुलुकको र आमनागरिकको सेवामा नयाँपन आउने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता भण्डारीले विशेष महाधिवेशनमार्फत भएको नेतृत्व परिवर्तनले पार्टीभित्रको अन्योलता चिरेको र कार्यकर्तामा नयाँ उत्साह भरेको दाबी गर्नुभयो ।
कुराकानीका क्रममा नेता भण्डारीले विशेष महाधिवेशनमा जाँदै गर्दा आफूलाई पार्टी फुट्ने हो कि भन्ने गम्भीर चिन्ता लागेको स्मरण गर्नुभयो । “महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी विभाजनको जोखिम देखिएको थियो, तर अन्ततः सहज रूपमा नयाँ नेतृत्व चयन भयो,” उहाँले भन्नुभयो, “अहिले पार्टीभित्रका सबै नेताहरूबीचको मतभेद अन्त्य भएको छ र सबै तहका नेता–कार्यकर्ता खुसी छन् ।”
थापाको नेतृत्वले आगामी दिनमा नेपाली कांग्रेसको कार्यसम्पादनमा फरक प्रभाव पार्ने डा. भण्डारीको तर्क छ । उहाँका अनुसार अब कांग्रेसले नागरिकका आधारभूत मुद्दाहरूलाई प्रखर रूपमा उठाउने र जनताले महसुस गर्ने गरी काम गर्नेछ ।
साथै भण्डारीले आफ्नो निर्वाचन क्षेत्र गुल्मीका सन्दर्भमा बोल्दै आफ्नो उम्मेदवारी जिल्लाका विद्यमान समस्या समाधानका लागि भएको स्पष्ट पार्नुभयो । उहाँले गुल्मीको चौतर्फी विकासका लागि आधुनिक र व्यावसायिक कृषिको विकास, ऐतिहासिक र धार्मिक स्थलहरूको प्रवद्र्धन, गुणस्तरीय र सर्वसुलभ सेवाको सुनिश्चितता आफ्नो प्रतिवद्धता रहेको बताउनु भएको छ ।
नेता भण्डारीले पार्टीको नयाँ कार्यसमिति बनेपछि अबको बाटो विकास र समृद्धितर्फ केन्द्रित हुनेमा जोड दिनुभएको छ ।