काठमाडौं। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आचारसंहित लागु गर्ने अन्तिम तयारीमा निर्वाचन आयोग पुगेको छ। जेनजी आन्दोलनले उत्पन्न परिस्थितिपछी गत भदौ अन्तिममा बनेको अन्तरिम सरकारले आगामी फागुन २१मा निर्वाचन गर्ने गरी प्रतिनिधि सभा विघटन गरेपछी आवश्यक तयारीमा जुटेको आयोगले निर्वाचनको मिति नजिकिँदै गएसँगै आचारसंहिता लागु गर्ने तयारीमा जुटेको हो।
आयोगको निर्वाचन तालिकाअनुसार यसअघी समानुपातिक बन्दसूची संकलन गरेर आवश्यक प्रक्रिया अगाडी बढाईरहेको आयोगले आउँदो माघ ६ गतेका लागि प्रत्यक्ष तर्फका उमेदवारको मनोनयन दर्ताको तालिका तोकेको छ। यो अवधीभित्रै आचारसंहिता लागु गर्ने लक्ष्य आयोगको छ। विगतमा आचारसंहिताको पूर्ण कार्यान्वायन नहुदा विभिन्न क्षेत्रबाट आउने गरेका गुनासो यसपटक अन्त्य हुने गरी यसपटक कडाई गर्ने आयोगको योजना देखिन्छ।
मुलतः विगतमा ठुला दलका उमेदवारहरुले आचारसंहिता विपरित प्रसारप्रसार, आर्थीक चलखेल, तडकभडकजस्ता गतिविधि गर्दा साना दलका उमेदवारहरु प्रभावित भएको, असुरक्षित महसुस गरेको र आयोग, प्रसाशन तथा कर्मचारिहरुले पनि आचारसंहिता कार्यान्वायनमा साना दलहरुलाई मात्रै कडाई गर्ने गरेको लगाएतका गुनासा बढी मात्रामा आउने गरेका थिए। यसपटक पनि सोही नियति दोहोरिने चिन्ता साना दलहरुको देखिन्छ।
आयोगले शुक्रबार निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनबारे दलहरूसँग गरेको छलफलकै क्रममा साना पार्टीका नेता तथा प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता सबैलाई बराबरी लागू हुने भएपनि साना दलमाथि हुने गरेको थिचोमिचोबारे निर्वाचन आयोग र प्रहरी प्रशासनले सहयोग नै नगर्ने गरेको गुनासो गरेका छन्।
राष्ट्रिय यथार्थवादी पार्टी नेपालका डा.जितेन्द्रप्रसाद घिमिरे निर्वाचनमा जतिसुकै र जस्तासुकै निर्वाचन आचारसंहिता लागू गरिए पनि त्यो सानाका लागि मात्र सीमित हुने र पहुँचवालाले त्यसको उल्लङ्घन गरिरहने विगतका घटनाको स्मरण गराउँदै आयोगले तयार पारेको आचारसंहिता राम्रो भएपनि कार्यान्वयन पक्ष फितलो हुने गरेको गुनासो गर्नुभयो।
आचार संहितामा १० वटा मात्रै झन्डा तोकिए पनि उम्मेदवारी दर्ताकै दिनबाट त्यो व्यवस्था उल्लङ्घन हुने भन्दै उहाँले ठुला पार्टीका झन्डाले साना दलका उमेदवारलाई हामी अरू नै पार्टीका सदस्य हौँ कि के हौ भन्ने अवस्था आउने गरेको र उम्मेदवारी दर्ता गराउन जाँदा बचाउनै गाह्रो हुने गरेको बताउनुभयो।
यस्तै,नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता चिरञ्जीवी ढकालले आचारसंहिता राम्रो आएपनि कार्यान्वायनमा चुनौति हुँदा व्यवहारिक नभएको बताउनुभयो। राजनीतिक दलहरूले निकै ठुलो प्रतिबद्धता गर्नुपर्ने रहेको अवस्थामा समानुपातिक निर्वाचन प्रणालीमा दलहरूले बुझाएको सूची हेर्दा नै कार्यान्वायन प्रस्ट हुने टिप्पणी गर्नुभयो। कानुन बनाएपछि लागू गर्न सक्नुपर्नेमा जोड दिँदै निर्वाचन स्वच्छ, मर्यादित र पारदर्शी बनाउन सबैले पालना गर्न गराउन जरुरी रहेको बताउनुभयो।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)की नेतृ ओजस्वी भट्टराईले आर्थीक चलखेल बढी हुने गरेको भन्दै त्यसको निगरानी कसरी हुँदैछ? भन्ने प्रश्न गर्नुभयो। यस्तै उहाँले आचारसंहिता उल्लङघन गर्नेलाई कस्तो खालको कारबाही हुने भन्ने प्रष्ट नहुँदा उल्लङघनको क्रम बढ्दै गईरहेको टिप्पणी गर्नुभयो।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता डा. डण्डपाणी पौडेलले आचारसंहितामा दण्ड जरिवानाको स्पष्ट उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो। हरेक पटक कारबाही गछौं भन्ने तर कडा कारबाहीको दायरामा ल्याउन नसक्दा आचारसंहिता उल्लङघन बढ्ने गरेको भन्दै यो व्यवस्था अनिवार्य आचारसंहितामा राख्नुपर्ने बताउनुभयो।
निर्वाचन आचारसंहिताको प्रभावकारि कार्यान्वायन नहुँदा आउने गुनासोप्रति सचेत रहेको भन्दै निर्वाचन आयोगले यसपटक आचारसंहिता कार्यान्वायन गर्न र दल तथा उमेदवारलाई पालना गराउन कुनै कसर बाँकी नराख्ने तथा विगतका गल्ती दोहोरिन नदिने प्रतिवद्धता जनाएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल र पक्षलाई आग्रह गर्दै आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याईने चेतावनी दिनुभयो।
खासगरी विगतमा निर्वाचनका क्रममा ठुला तथा पुराना दलहरुले बढी मात्रामा निर्वाचन आचारसंहिता उल्लङघन गर्ने गरेको गुनासो बढी मात्रामा आउने गरेपनि पछिल्ला निर्वाचनमा नयाँ दल र तिनका उमेदवारहरु पनि आचारसंहिता पालनमा चुक्ने गरेका छन्।
निर्वाचनका क्रममा आचारसंहिताविपरित आर्थीक चलखेल,प्रसारप्रसारमा अनावश्यक तडकभडक, मतदाता प्रभावित पार्ने क्रियाकलापजस्ता गतिविधीले निर्वाचनमाथी नै प्रश्न उठ्ने गरेको छ यसमा सबै दल उमेदवार जिम्मेवार छन्। आगामी निर्वाचनमा पनि सोही नियती दोहोरिने आशंका प्रष्ट छ।
तसर्थ निर्वाचन आचारसंहित लागु गर्ने अन्तिम तयारीमा रहेको आयोगले अनुगमन र प्रभावकारी कार्यान्वायनमा पनि विषेश ध्यान दिन जरुरी छ। भने दल तथा उमेदवारहरु पनि आचारसंहिता पालनामा जिम्मेवार बन्न जरुरी छ।