काठमाडौं। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यतिबेला निर्वाचन आयोगको सम्पूर्ण ध्यान केन्द्रित छ। आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि करिब करिब आफ्नो काम सकिसकेको आयोगले अब निर्वाचन आचार संहिताको पूर्ण पालनाका साथ भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित बनेको छ ।
त्यसका लागि आज देशैभर १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका ८८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्। भने मतदान केन्द्रमा खटिने मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरिसकेको छ।
त्यस्तै आजै आयोगले निर्वाचन र आचारसंहिता कार्यान्वायनका विषयमा दलहरुसँग परामर्श पनि गरेको छ। आयोगले तयार पारेको निर्वाचन आचारसंहिता कार्यान्वायनका लागि निर्वाचनमा भाग लिने दलहरूसँग छलफल गरेको हो। आयोगका अनुसार आचारसंहिता कार्यान्वयनको मिति तय हुन भने बाँकी छ।
तथापी दलहरुले आचारसंहिताको पूर्ण पालनामा आयोगसमक्ष पूर्ण प्रतिवद्धता जनाएका छन्। छलफलमा सहभागी दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेको स्मरण गराउँदै यसपटक आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
नेकपा एमालेका नेता डा. राजन भटराईले निर्वाचनको प्रचार सम्बन्धि आचारसंहितामा उल्लेख व्यवस्था व्यवहारिक नरहेकोतर्फ निर्वाचन आयोगलाई सचेत गराउँदै आचारसंहिता कार्यान्वयनमा आयोगको मनिटरिङ सिष्टम प्रभावकारी नहुँदा निर्वाचन सहज नबनेको र पैसाको चललेख तथा मनि मसलको प्रयोगलाई नियन्त्रण गर्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै निर्वाचनका लागि उम्मेदवारले ढुक्कका साथ जनतामा जान पाउने र भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चितता दिलाउनुपर्ने भन्दै उहाँले आचारसंहिता कार्यान्वायनका लागि भने एमाले पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो मेकानिजमको व्यवस्था गर्न आयोगलाई सुझाव दिनुभयो। अहिले सामान्य अवस्थाको निर्वाचन नरहेको र विषम राजनीतिक परिस्थिति रहेकोले आचारसंहिता कार्यान्वयनमा राजनैतिक दल, उमेदवार तथा आयोगले विषेश ख्याल गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले निर्वाचन पछिको परिणाम पनि सर्वमान्य हुनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै, नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले दलिय व्यवस्था र बहुदलीय प्रतिष्पर्धा रहेको अवस्थामा पछिल्लो समय निर्वाचनको क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोले यसको विषेश ख्याल गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै विज्ञान र प्रविधिको दुरुपयोग गरी निर्वाचन विथोल्ने र अराजकता मच्चाउने गतिविधी पनि हुनसक्ने भएकोले यसको निगरानी गर्ने संयन्त्र निर्माण गर्न सुझाव दिँदै उहाँले कांग्रेसले विगतदेखी हरेक निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा जिम्मेवारी बहन गर्दै आएकोले यसपटक पनि आचारसंहिता कार्यान्वायनमा नचुक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
दलहरुसँगको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै निर्वाचन आयोगले आचारसंहिता पालना गराउन कुनै कसर बाँकी नराख्ने बताएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल र पक्षलाई आग्रह गर्दै आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याईने चेतावनी दिनुभयो।
निर्वाचन आयोगले नाजायज तरिकाले कुनै पनि आचारसंहिता नबनाउने र कानूनको लक्ष्मण रेखाभित्र रहेर कानून तथा आचारसंहिता परिपालन गराउने सन्दर्भमा कुनै पनि कसर नराख्नेतर्फ सचेत गराउँदै राम्रोसँग अनुशासित तरिकाले कानून परिपालन गरि फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने गरी भुमिका खेल्न आग्रह गर्नुभयो।
गत भदौमा भएको जेनजी आन्दोलनले तत्कालिन सरकार नै बहिर्गमनमा पारेपछी बनेको वर्तमान अन्तरिम सरकारले घोषणा गरेको आसन्न फागुन २१ हुने निर्वाचनलाई निर्धारित समयमै स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने गरी आयोगले आफ्नो काम कारबाही तिब्र पारेको छ। जसअनुसार अब आचारसंहिता कार्यान्वायनको पूर्वसन्ध्यामा आयोगले निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गरेर आफ्नो तयारीमा जुटेका दलहरुसँग आज छलफल र परामर्श गरेको हो।
कतिपय दलहरुले निर्वाचनलाई लिएर विभिन्न आशंका व्यक्त गरिरहेको समयमा र मुलुकको ठुलो दल नेपाली कांग्रेस विभाजनको विवाद टुँङ्गो लगाउने जिम्मा आयोगकै काँधमा आईपरेको अवस्थामा निर्धारित समयमा निर्वाचन हुनेमा शंका पनि थियो। तथापी आयोगले निर्धारित समयमै जुनकुनै हालतमा पनि निर्वाचन सम्पन्न गर्ने अठोटका साथ आफ्नो काम कारबाही अगाडी बढाएको छ। जसअनुसार अब निर्वाचन आचारसंहिता लागु हुँदैछ।
यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहीत वातावरणमा सम्पन्न गराउनका निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु सबै राजनैतिक दल, उमेदवार, आयोग, सरकार, मतदातादेखी सरोकारवाला पक्ष सबैको दायीत्व हो।