काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ । कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नामावली दर्ता सुरु भएको जिल्ला, क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी जानकारी दिए । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।
उद्घाटनअघि बिहान ११ः०० बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गरिने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्ताबेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेको छैन ।