काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित ७ बुँदे सम्झौता गरेका छन् । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा उभ्याइनेछ ।
आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने घोषणाका साथ उनीहरुले त्यसमा आफूहरुको प्रतिवद्धता देखाएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आवद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत राखिएको छ ।
सम्झौतापत्रमा लामिछाने र शाह दुवै आ–आफ्नो पदीय हैसियतमा मौन रहेर नाममात्रै लेखेका छन् । सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीको विषयवस्तु उल्लेख भएपनि रवि लामिछानेको नाममात्रै छ । उनले पार्टी सभापतिको हैसियतले हस्ताक्षर गरेका छैनन् । काठमाडौं महानगरपालिकाका मेयर शाहले पनि सम्झौतापत्रमा आफ्नो पदीय हैसियत खुलाएका छैनन् । सम्झौतापछि सम्भवतः बालेन शाह मेयर पदबाट राजिनामा दिएर पार्टी राजनीतिमा सक्रिय हुनेछन् ।
सम्झौताको पहिलो बुँदामा नवयुवा(जेनजी)ले भ्रष्टाचार र कुशासनको विरुद्धमा गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । उनीहरुले घाइते र शहिद परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । दोस्रो बुँदामा समुन्नत र सामाजिक न्यायका लागि प्रतिवद्धता जनाउदै नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने भनेका छन् । उनीहरुले नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा इमान्दार भएर समर्पित हुने भनेका छन् ।
रवि र बालेनले आफूहरुलाई पहिलो र दोस्रो पक्षको रुपमा प्रस्तुत गर्दै अब बृहत एकता गर्ने उद्घोष गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चिन्ह र झण्डा पुरानै हुनेछ । सम्झौतापत्रमा, पार्टीको नेतृत्व रविले र आगामी सरकारको नेतृत्व बालेन शाहले गर्ने सहमती भएको छ ।