राजविराज । मिडियामा एआईको प्रयोगसम्बन्धमा मधेस प्रदेशका पत्रकारका लागि पुनर्ताजगी प्रशिक्षण सुरु गरिएको छ। मधेस प्रदेशका सबै जिल्लामा नेपाल पत्रकार महासङ्घका शाखाहरूको समन्वय तथा आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा यो कार्यक्रम सप्तरी जिल्लाबाट बुधबार शुरू गरिएको हो।
कार्यक्रममा एआई अध्येता तथा अभ्यासकर्ता पत्रकार जीवन भण्डारी मुख्य प्रशिक्षकका रूपमा रहनुहुन्छ। भण्डारीले मिडियामा एआईको सही, सुरक्षित र जिम्मेवार प्रयोग, एआई आचारसंहिता, समाचार कक्षमा उपयोगी एआई उपकरणहरू तथा व्यावहारिक कार्यशैलीबारे विस्तृत प्रशिक्षण दिनुहुने प्राधिकरणले जनाएको छ।
त्यसैगरी पत्रकार प्रकाश मैनालीले कार्यक्रममा सहभागी पत्रकारहरूलाई साइबर सुरक्षा, पासवर्ड हाइजिन, सूचना–गोपनीयता र डिजिटल जोखिम न्यूनीकरणसम्बन्धी जानकारी दिनुहुने भएको छ। आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाका अनुसार, अघिल्लो वर्ष गरिएको एआई सम्बन्धी प्रशिक्षण अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया आएपछि यस वर्ष पुनः अद्यावधिक तथा व्यावहारिक सीप आदानप्रदानका लागि कार्यक्रम विस्तार गरिएको हो।
प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत रञ्जिता शाहले आधुनिक पत्रकारितामा एआई प्रविधिको प्रयोग अनिवार्य बन्दै गएकाले पत्रकारहरूलाई सशक्त बनाउने उद्देश्यले पुनर्ताजगी कार्यक्रम आवश्यक परेको बताउनुभयो।
सप्तरीको राजविराजमा आयोजित उद्घाटन सत्रमा ५० भन्दा बढी पत्रकार सहभागी भएका थिए। कार्यक्रममा एआईको बढ़्दो दुरुपयोग, फेक कन्टेन्ट, डीपफेक र मिष - डिसइन्फर्मेशनप्रति गम्भीर चिन्ता व्यक्त गरियो। सहभागीहरूले एआईसम्बन्धी नियमन, आचारसंहिता र डिजिटल साक्षरताको आवश्यकता जोडदार रूपमा उठाएका थिए।
उद्घाटन समारोहमा आमसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ सप्तरीका वैद्यनाथ झा, मुरलीप्रसाद यादव, व्यासशङ्कर उपाध्याय, उपाध्यक्ष रामनारायण विश्वासलगायतका वक्ताहरूले एआईको अवसर र जोखिमबारे आफ्ना धारणा राखेका थिए।