काठमाडौं। काठमाडौंको अन्तिम फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडामा आजदेखि पुनः फोहोर विसर्जनमा अवरोध सुरु भएको छ। नुवाकोटको ककनी गाँउपालिका र धादिङको धुनिबेँसी नगरपालीकामा पर्ने बञ्चरेडाँडामा फोहोर विसर्जनबाट प्रभावित स्थानियहरुले विगतका सहमति कार्यान्वयनको माग राख्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन्।
यसअघी गत कात्तिक दोश्रोसाता पनि फोहोर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्ने लगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै अनिश्चितकालीन बन्द घोषणा गर्दै फोहोर विसर्जन रोकेका थिए।
त्यसलगत्तै कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले प्रभावित क्षेत्रमै पुगेर १५ दिनभित्र विगतमा सहमति कार्यान्वयनको चरणमा लैजाने प्रतिबद्धता व्यक्त गरेपछी अवरोध खुलाउन तयार बनेका स्थानियहरु अहिले उक्त समयसिमा सकिँदा पनि माग सम्बोधनका लागी कुनै प्रक्रिया नै थालनी नभएपछी आजदेखी पुनः आन्दोलीत बनेका हुन्।
बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र ककनी गाउँपालिका–१,२ र ३ तथा धुनबेँसी नगरपालिका–१ र ३ वडाका स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर आज फोहर विसर्जन गर्न पुगेका गाडीलाई प्रवेश गर्नै नदिई अवरोध जारी राखेका छन्।
उनिहरुले २०७९ जेठ २६ मा काठमाडौं महानगरप्रमुख बालेन्द्र साहसहितको टोलीसँग भएको १८ बुँदे सहमति कार्यान्वयन बटमलाइन बनाएका छन्।
उक्त सहमतिमा फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने, फोहोर विसर्जनपश्चात् लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेलगायत मागलाई समझदारीअनुसार चरणबद्ध रूपमा पूरा गर्ने उल्लेख छ।
तर उक्त सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहोरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको संक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको भन्दै स्थानीयले गुनासो गरेका छन्।
मागको सम्बोधन र सहमति कार्यान्वयनका लागि मन्त्रीस्तरीय लिखित प्रतिबद्धताको साथमा जिम्मेवार प्रतिनिधि प्रभावित क्षेत्रमा आउनुपर्ने भन्दै सिसडोल,कुँडुले,ढाँडेका सडकमा नुवाकोटको ककनी र बेलकोटगढी तथा धादिङको धुनबेँसीका जनप्रतिनिधि,दलीय प्रतिनिधि लगायतको समर्थनमा सयौँको सङ्ख्यामा स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
यसपटक लिखित प्रतिबद्धतासहितको निर्णायक वार्ताविनाका अन्य छलफलमा सहभागी नै नहुने स्थानियको अडान रहेको छ।
गत कात्तिक दोश्रो साता सहरी विकासमन्त्री घिसिङ्ले नै विगतका १८बुँदे सहमति १५दिनभित्र कार्यान्वयन सुरु गर्ने मौखिक प्रतिबद्धता जनाएपनि निर्धारित समय सकिँदासमेत पूरा नभएपछी पुनः आजदेखि आन्दोलनमा उत्रिन वाध्य भएको धुनिवेसी नगरपालिका ३ का वडाध्यक्ष प्रकाश हमालले बताउनुभयो।
स्थानियवासीबाट फोहोर व्यवस्थापनमा अवरोध भएपछी यता सरकारले भने वार्तामा बोलाएको छ। जसअनुसार आज सहरी विकासमन्त्रालयमा भएको छलफल पनि विना निष्कर्ष सकिएको छ।
आजको छलफलमा पनि कुनै नयाँ माग नराखी विगतकै सहमती कार्यान्वायनलाई नै बटमलाइन बनाएको बताउँदै धुनिवेसी १का वडाध्यक्ष मानबहादुर तामाङ्गले आँफुहरुले यसपटक विगतमा जस्तो मौखिम प्रतिवद्धता नमान्ने अडानमा रहेको र सरकारका तर्फबाट पनि लिखित सम्झौता गर्ने संकेतको आश्वासन आएको बताउनुभयो।
यस्तै ककनि गाउँपालिका अध्यक्ष सुमन तामाङ्गले सरकारले विगतका सहमती कार्यान्वायन नगर्दा पटकपटक धोका पाएको गुनासो गर्नुभयो। आजको छलफल केही सकारात्मक भएपनि सहमतीका लागी भने अन्यौलता कायमै रहेको बताउनुभयो।
यद्यपी आजको छलफलमा काठमाडौं महानगरले यसअघी सिसडोलका प्रभावितलाई दिँदै आएको पशु क्षति तथा बालि मुआव्जा अब एक महिनाभित्र बञ्चरे आसपासका स्थानियलाई पनि दिने प्रतिवद्धता जनाएको र अब भोली पनि आन्दोलीत स्थानियसँग थप वार्ता हुने तामाङले जानकारी दिनुभयो।
फोहोर व्यवस्थापन जस्तो संवेदनशिल विषयमा पनि सरकार जिम्मेवार बन्न नसक्दा र बञ्चरेडाँडा ल्याण्डफिल साईटबाट प्रभावित तथा पीडित बनेका स्थानियहरुको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार नै हनन भैरहेको छ।
अर्कातिर फोहोरको दिर्घकालिन समाधानका लागी वैज्ञानिक उपाय अवलम्बन गर्ने र प्रभावित क्षेत्रका स्थानियहरुका विभिन्न माग निर्धारित समयमै सम्पन्न गर्ने गरी पटकपटक सरकारले गरेका सहमति र प्रतिवद्धता पनि पुरा नहुँदा उनिहरु पटकपटक आन्दोलनमा उत्रिँदै फोहोर व्यवस्थापनमा अवरोध गर्दै आउँदा फोहोर विसर्जन प्रभावित हुँदै आएको छ।
यसपटक पनि स्थानियको अवरोधले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बन्चरेडाँडा गएका २५० बढी गाडी बिचमै रोकिएका छन भने काठमाडौंमा फोहोर थुप्रिन थालेको छ। यसले गर्दा अर्को स्वास्थ्य संकट निम्तिने जोखिम बढ्दै गएको छ।
तसर्थ सरकारले बञ्चरेडाँडावासीसँग विगतका सहमती कार्यान्वायन गर्दै बैज्ञानिक रुपमा दिर्घकालिन समाधानका लागी उपाय अवलम्बनमा केन्द्रित हुन जरुरी छ।