काठमाडौं। सरकारलाई वार्षीक रुपमा कर तिर्नेमा जेनजी आन्दोलनबाट पीडित व्यवसायी नै अगाडी छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट ठुलो क्षति बेहोरेका उद्योगी व्यवसायी नै सरकारलाई धेरै आयकर तिर्नेमा अगाडी देखिएका हुन्।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा धेरै कर तिर्ने विभिन्न विधाका उद्योगी व्यवसायीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गर्दै आन्तरिक राजस्व विभागले यस्तो विवरण सार्वजनिक गरेको हो। आजको कार्यक्रमका लागी आठभन्दा बढी विधाका उत्कृष्ट करदातालाई सम्मान गर्न विभागले ३७ ठुला प्रतिष्ठानको नाम सिफारिस गरेको थियो।
तर सरकारले कुल १६ करदातालाई विभिन्न शीर्षकमा बढी कर तिरेकोमा सम्मान गरेको छ। समग्रमा यसवर्ष व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन् भने सबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरण छ। जेनजी आन्दोलनमा सबैभन्दा बढी क्षति बेहोरेको भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर वस्तु व्यापार विधामा उत्कृष्ट करदाताको रुपमा सम्मानीत भएको छ।
उत्कृष्ट करदाताको रुपमा सरकारले गरेको सम्मानका क्रममा करदाताहरुले करका दर नभै दायरा विस्तार गरीदिन सरकारसमक्ष आग्रह गरेका छन्। सम्मानीत भएपछी अध्यक्ष मिनबहादुर गुरुङ्गले अहिले जेनजी आन्दोलका क्रममा सबै व्यवसायी संकटमा पुगेकोले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो।
आन्दोलनमा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको जानकारी दिँदै उहाँले अझैपनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने अठोट व्यक्त गर्नुभयो। नेपालमा धेरै कुराको अवसर रहेको भन्दै उहाँले अहिलेको विसम परिस्थितिलाई स्वीट पेन र अवसरका रुपमा लिनुपर्ने बताउनुभयो।
यस्तै, आन्दोलनपछी खस्किएको व्यवसायीको मनोबल उकासिन नसक्दा र सरकारले लगानीको सुरक्षित वातावरण बनाईदिन नसक्दा आगामी दिनमा कर तथा राजस्व संकलन अपेक्षा गरेअनुसार हुुन नसक्नेतर्फ ध्यानाकर्षण गराएका छन्। देशको अर्थतन्त्र नै संकटमा परेको भन्दै निजी क्षेत्रका विभिन्न संघ संगठनहरुले सुरक्षा प्रत्याभुति दिलाउँदै धेरैभन्दा धेरै कर संकलन हुने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशमा लगानी भित्राउन र राजश्व बढाउन करको दर नभै दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। अव निर्वाचनमार्फत स्थीर सरकार आउने र लगानीको वातावरण बन्ने अपेक्षा लिएको भन्दै उहाँले लगानी विस्तार र औधोगीक लगानीको वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
यस्तै, सरकारले कर नीति समय सापेक्ष बनाउन जरुरी रहेको भन्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले समय सापेक्ष करको नीतिले मात्रै मुलुकमा सोचेअनुसारको कर तथा राजस्व संकलन हुने बताउनुभयो।
यस्तै,उद्योग वाणीज्य महासंघ नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठले चोरी, आगजनी, लुटपाट र तोडफोडले ठुलो क्षति पुगेको र व्यवसायीको मनोबल खस्किएको भन्दै उहाँले मनोबल उकास्न पनि घुसपेठ गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो। सरकारले सुरक्षा दिन नसक्ने हो भने भोलिका दिनमा यस्ता घुसपेठहरु थप मौलाउने र व्यक्ति तथा, व्यवसायीको कन्फिडेन्स लुज हुनेमा ध्यानाकर्षण गराउनुभयो।
आन्दोलनपछी मनोबल खस्किएका उद्योगी व्यवसायीलाई पटकपटक आग्रह गर्दापनि अपेक्षाअनुसार सुरक्षा र लगानीको वातावरणको अनुभुति दिलाउन नसकेको सरकारले आश्वासन भने कायमै राखेको छ। अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोराउनुभयो।
अर्थमन्त्री खनालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने र सुशासन,भ्रष्टाचार नियन्त्रण र नागरिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गरिने भएकोले त्यो कार्य आफैंमा सुरक्षा हुने बताउनुभयो।
जेनजी आन्दोलनले ठुलो क्षति बेहोर्नुपर्दा मनोबल नै खस्किएका उद्योगी व्यवसायीहरु खरानी टकटकाएर धुलोबाट उठ्ने अठोट व्यक्त गर्दै आन्दोलनमा घुसपैठ गरी तोडफोड र आगजनी गर्नेलाई कारबाही दायरामा ल्याएर लगानीको सुरक्षीत वातावरण बनाइदिन माग गरेका छन्।
यदि निजि क्षेत्रको मनोबल उकासिएर नयाँ लगानीको वातावरण सृजना भएको खण्डमा मात्रै देशले कर तथा राजस्व धेरै संकलन गर्ने अवस्था आउँछ तसर्थ सरकारले त्यसतर्फ ध्यान दिन जरुरी छ।