काठमाडौँ । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशकी सह–महामन्त्री निमा गिरीले विशेष महाधिवेशनको क्रममा हस्ताक्षर नगरेकाहरू पनि दिनदिनै अभियानमा जोडिँदै गएको बताएकी छिन् । देशभरका अधिकांश कार्यकर्ता निर्वाचन अगाडि नै नियमित नभए विषेश महाधिवेशन हुनै पर्ने पक्षमा रहेको उनको दावी छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले कार्यकर्ताको आवाज सुन्न काँग्रेस केन्द्रीय समितिलाई कडा खवरदारी गर्दै निर्वाचन अगाडि नै महाधिवेशन नगरेमा देशभरका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्ने चेतावनी दिइन ।
नेतृ गिरीका अनुसार चुनाव अगाडि नै महाधिवेशनको माग गर्दै संकलन भएको हस्ताक्षरलाई “किर्ते हस्ताक्षर” भन्दै भ्रम फैलाउनेहरुबाट महाधिवेशन प्रतिनिधिहरु वेस्सरी रिसाएको उनको भनाई छ । “हस्ताक्षर रुजु हुन सक्छ, तर फिर्ता हुन सक्दैन,” गिरीले भनिन, “यो पार्टीभित्रको सबैभन्दा शक्तिशाली र जिम्मेवार जनमत हो, यसलाई हेला गर्न मिल्दैन।”
विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको उल्लेख गर्दै उनले महाधिवेशन प्रतिनिधि नभएकाहरूले समेत विषेश महाधिवेशनको पक्षमा खुलेर दवाव दिइरहेको जानकारी दिइन्।
सहमहामन्त्री गिरीले चुनाव अगाडि महाधिवेशन नभए काँग्रेसका देशभरका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्ने चेतावनी पनि दिइन ।
विषेश महाधिवेशन भएमा पार्टी फुट्छ भन्नेहरुलाई गिरिको जवाफ थियो, “विभाजन हुने दफा विधानमा लेखिदैन। विधानमै भएका व्यवस्थाले पार्टी फुट्दैन, अहिले महाधिवेशन माग्नेलाई पार्टी फुटाएको अनुभव छैन, बरु जसले भनेका छन उनलाई नै त्यो अनुभव छ ।
गिरीले काँग्रेस भित्र स्थापना कालदेखि नै गुटहरु रहेको र अव पनि रहने स्विकार गर्दै त्यसलाई फरक विचार समुहको रुपमा लिएर व्यवस्थापन गर्नु गर्ने तर्क गरिन ।