काठमाडौं। नेपाल विश्वमै सर्वाधिक प्रकृतिप्रेमी देशको सूचीमा पहिलो बन्न सफल भएको छ। विभिन्न अन्तराष्ट्रिय अध्ययनहरुले हालै सार्वजनीक गरेको नतिजामा नेपाल सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको हो।
रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा हालै प्रकाशित एक अध्ययनले प्रकृतिसँग देशका जनताको संवेगात्मक तथा मनोवैज्ञानिक सम्बन्धका विषयमा विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको सर्वेक्षणमा नेपालीहरुमा सर्वाधिक प्रकृतिप्रेम रहेको पाइएकोले नेपाल विश्वकै सर्वाधिक प्रकृतिमैत्री देश ठहर गरेको हो ।
उक्त सर्भेक्षणमा मानिसको प्रकृतिप्रतिको व्यवहार तथा दृष्टिकोणलाई कसरी सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक पक्षहरुले प्रभाव पार्दछन् भन्ने कुराको समीक्षा गरिएको थियो। त्यसक्रममा १.३९ अंक सहित नेपाल पहिलो स्थानमा पर्न सफल भएको छ। उक्त सूचीमा १.२२ अंक सहित इरान दोश्रो स्थानमा छ भने तेश्रो स्थानको दक्षण अफ्रिकाले १.२० अंक पाएको छ ।
सर्वाधिक प्रकृतिमैत्री जनता भएका अन्य टपटेन मुलुकहरुमा क्रमशः बंगलादेश, नाइजेरिया, चिली, क्रोएसिया, घाना, बुल्गेरिया र ट्युनिसिया रहेका छन् ।यसरी प्रकृतिसँग सर्वाधिक जोडिएका शीर्ष १० देशको सूचीमा केवल दुईवटा मात्रै युरोपेली देश मात्र पर्न सफल भएका छन् । यो सूचीमा अर्को युरोपेली मुलुक फ्रान्स १९औं स्थानमा रहेको छ।
प्रकृतिसँग सर्वाधिक जोडिएका देशहरुको शीर्ष सूचीमा अधिकांश एसिया तथा अफ्रिकाका देश रहँदा स्पेन भने यो सूचीको सबैभन्दा पुछारमा रहेको छ। उसको माइनस ०.६१ अंक छ। त्यसैगरी जापान अन्तिमबाट दोश्रो स्थानमा छ। प्रकृतिसँग सबैभन्दा कम जोडिएका १० देशमा रुस, आयरल्याण्ड, साउदी, बेलायत, नेदरल्याण्ड, क्यानडा, जर्मनी, इजरायल, जापान र स्पेन रहेका छन्।
त्यस्तै देशको बजारमैत्री अर्थतन्त्रको स्तर प्रदर्शन गर्ने विश्व बैंकको डोइंग बिजनेस इन्डेक्समा उच्च स्थानमा रहेका देशहरु प्राकृतिक वातावरणसँगको सम्बन्धको हिसाबले कमजोर देखा परेको रोचक तथ्य पनि अध्ययनले औल्याएको छ। त्यसैगरी सहरीकरणको स्तर,औसत आय तथा इन्टरनेट प्रयोगको दरले पनि प्रकृतिसँगको आबद्धतालाई प्रभाव पार्ने देखिएको छ ।
उक्त अध्ययनले अध्यात्म र धार्मिक आस्थाले मानिसहरुको प्रकृतिसँगको सम्बन्धलाई गहन बनाउने सर्वाधिक शक्तिशाली तत्व रहेको देखाएको छ। यता, यो खबर सार्वजनीक भएपछी नेपालीहरुमा पनि उत्साह छाएको छ भने विज्ञहरुले यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिन आउनसक्ने चुनौतिहरुको सामनाका लागी सचेत रहनुपर्नेमा पनि जोड दिएका छन्।
बरिष्ठ पत्रकार एवं वातावरणविद् श्रीराम सुवेदीले नेपालले प्रकृतिसँग नजिक बनेर ४५ प्रतिशत बन संरक्षण गर्दै वाघ, गैडाजस्ता वन्यजन्तुको संरक्षण र मानव वन्यजन्तुविचको द्वन्द्व अन्त्यका लागी गरेको प्रयत्नले नेपाल सर्वाधिक प्रकृतिप्रेमी देशको सूचीमा पहिलो बन्न सफल भएको बताउनुभयो। यो कुराले विभिन्न निराशाबाट गुज्रिरहेका नेपाल र नेपालीका लागी गौरबको कुरा भएको र यसले नेपाललाई धेरै विश्वमञ्चहरुमा एकपछी अर्को पैरवीका लागी ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो।
तर, यता, नेपालमा पनि विश्वबजारमा जस्तै बढ्दो सहरिकरण र प्रकृतिसँग विस्तारै टाढाहुने क्रम बढ्नै गएकोले आगामी दिनमा यसले निरन्तरता पाउनेमा भने चुनौति देखिएको सुवेदीको आशंका छ। नेपाल तिब्र विकास र औधोगीकरणको चरणसँगै भौतिक विकासमा ध्यान दिँदै जाँदा प्रकृति प्रेमबाट टाढा हुने क्रम बढेकोले आगामी दिनका अध्ययनमाहरु नेपाल खस्किने त होइन? भन्ने आशंका बढेको बताउनुभयो।
यस्तै वातावरणविद् एवं त्रिभुवन विश्वविद्यालयका इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका निर्देशक डा. बसन्तराज अधिकारीले मानव–प्रकृतिबिचको सुमधुर सम्बन्ध हुँदा मानिसहरुमा चिन्ता हराउने, नयाँ र सकारात्मक सोचको विकास हुने भएकोले त्यसलाई हेर्दा अहिले विश्व नै हत्या, हिंसा, द्वन्द, युद्धजस्ता संकटबाट गुज्रिरहेको समयमा नेपाल विश्वमै पहिलो राष्ट्र बन्दा अन्तराष्ट्रिय जगतलाई पनि सन्देश दिने भएकोले नेपाल र नेपालीका लागी गौरबको कुरा भएको बताउनुभयो।
तर, जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोप र संकटका घटनाक्रमले नेपालमा पछिल्लो समय बढेको तिब्र सहरीकरणले आगामी दिनमा नेपाललाई पहिलो स्थानबाट पछाडी धकेल्न सक्ने भएकोले हाम्रो जिवनयापन जलवायुमैत्री बनाउँदै प्रकृतिको बचावटमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
बेलायत र अस्ट्रियाका अनुसन्धानकर्ताको टोलीले विश्वभरका मानिसहरु प्राकृतिक संसारसँग कसरी जोडिएका छन् र कति निकट छन्? भन्ने विषयमा ६१ देशका ५७ हजार मानिसमा सर्वेक्षण गरेको थियो।
उक्त अध्ययनका अनुसार ‘प्रकृति–सामीप्य’लाई एक स्थापित अवधारणा मानिन्छ, जसले कुनै व्यक्तिको प्रकृतिसँगको संज्ञानात्मक र भावनात्मक सम्बन्धलाई झल्काउँछ। यो मनोवैज्ञानिक अवधारणाअन्तर्गत कुनै व्यक्तिको अन्य जीवजन्तुसँगको सम्बन्ध मापन गरिन्छ। समाजमा उच्च ‘आध्यात्मिकता’को स्तरलाई प्रकृतिसँगको गहिरो सम्बन्धको सबैभन्दा बलियो ‘सूचक’समेत भनेको छ भने धर्म र आस्थालाई महत्त्व दिने समाजमा प्रकृतिसँगको सम्बन्ध पनि बलियो रहने देखाएको छ।
प्रकृतिसँगको सम्बन्ध बलियो हुँदा व्यक्तिको मानसिक स्वास्थ्य राम्रो हुने र ऊ वातावरण–मैत्री व्यवहारमा बढी संलग्न हुने देखाएको छ भने प्रकृतिसँगको कमजोर सम्बन्धका कारण सम्बद्ध व्यक्तिले व्यक्तिगत भौतिक लाभलाई प्राथमिकता दिने हुँदा यसलाई जैविक विविधताको ह्राससमेत निम्त्याउने कारकसमेत मानिन्छ। प्रकृतिसँग सम्बन्धलाई कमजोर पार्ने कारकमा उच्च सहरीकरण, औसत आम्दानी र इन्टरनेट प्रयोगको दर रहेको अध्ययनमा उल्लेख छ।
विश्वका राष्ट्रको ‘आध्यात्मिकता’ र ‘प्रकृति–सामीप्य’बिचको सम्बन्धलाई धार्मिक आस्था र विश्वाससम्बन्धी तथ्यांकको विश्लेषणका आधारमा पहिलो पटक ‘वल्र्ड भ्यालुज सर्भे’ अर्थात् ‘विश्वव्यापी मान्यता सर्वेक्षण’ले केही दशकअघि पुष्टि गरेको थियो।
खसगरी यो सर्वेक्षणले नेपाललाई पहिलो स्थानमा राख्नु नेपालका लागी गौरव मात्रै नभएर विश्वभर छाएका पछिल्ला खबरहरुमध्येकै सबभन्दा सुखद समाचार यही हुनुपर्छ । विज्ञकै भनाईअनुसार आगामी दिनमा खस्किने जोखिमतर्फ सचेत बनेर हाम्रो जिवनयापन प्रकृतिप्रेमी बनाउँदै यसको बचावटमा केन्द्रित हुन जरुरी देखिन्छ।