काठमाडौं । कोरोनाको संक्रमणबाट झापा, रुपन्देही, भैरहवा र कपिलवस्तुका थप एक–एक जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–३ निवासी ८२ वर्षीय महिलाको आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।
उता बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोभिड विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकी र उपचारका क्रममै मृत्यु भएको डा. गौतमले बताउनु भयो ।
उता भैरहवास्थित भीम अस्पतालमा थप एकजना संक्रमीतको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–३ का ९८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले बताउनु भयो ।
यस्तै नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ६ हजार ९०३ पुगेको छ । संक्रमितमध्ये ६ हजार २६९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
अन्य सुरक्षा निकायभन्दा प्रहरीमा संक्रमितको संख्या बढी छ । पछिल्लो समय संक्रमितको संख्या समेत घट्दै गएको छ ।