काठमाडौं । नौ वटा वामपन्थी राजनीतिक दलबीच एकता प्रक्रियाको तयारी तीव्र बनेको छ। नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतका अनुसार, वामपन्थी शक्तिहरूको एकता अहिलेको राजनीतिक आवश्यकता भएकाले एकता र नेताहरुको जिम्मेवारी मिलानको विषयमा निरन्तर छलफल जारी छ।
बस्नेतले सबै दलहरू विधि र प्रक्रियाअनुसार अघि बढिरहेका बताउँदै अब छिट्टै एकता महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिने जानकारी दिनुभयो । “नेतृत्व इमान्दारी, विचार, सिद्धान्त र सक्रियतामा निर्भर हुन्छ। राजनीतिमा उमेरका आधारमा प्रतिबन्ध लगाउन खोज्नु अनुचित हो,” उहाँले भन्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले एकतापछि बन्ने नयाँ पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा लगभग सहमति भइसकेको बताउनु भएको छ । यद्यपि, पार्टीभित्र केही असहमति रहेका भए पनि तीलाई छलफल र सहमतिमार्फत समाधान गर्दै अघि बढ्ने तयारी भइरहेको उहाँको भनाई छ ।
बस्नेतका अनुसार, नयाँ पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने छ, भने एकीकृत समाजवादीका अध्यक्ष नेपाल एकतापछि सहसंयोजकका रुपमा रहनुहुने छ । साथै एकतापछि बन्ने पार्टी नेपाली विशेषतासहितको समाजवादी पाटी हुने बस्नेतले दाबी गर्नुभएको छ । एकतापछि बन्ने नयाँ पार्टी आगामी निर्वाचनमा पनि सहभागी हुनेगरी तयारी भइरहेको बस्नेतले बताउनुभयो ।