काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषा किरण तिमिल्सीनाले पार्टीभित्र देखिएका कमी–कमजोरीबारे धेरै नेताहरूले सुझाव राखे पनि अध्यक्षले त्यसलाई नसुनेझैँ गरेको टिप्पणी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम ‘नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेतृ किरणले पार्टीभित्र निर्णय प्रक्रियामा सामूहिक भावना कमजोर भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “धेरै साथीहरूले कमी–कमजोरीबारे बोलेका छन्, तर अध्यक्षले नसुनेझैँ गर्नुभयो। अब म होइन, हामी भन्ने संस्कार विकास गर्नुपर्छ। कुनै पनि आन्दोलन एक्लैले होइन, सामूहिक रूपमा मात्र सफल हुन्छ।”
नेतृ तिमिल्सीनाले पार्टीभित्र अनुशासनको नाममा फरक मत राख्ने नेताहरूलाई दबाउने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाउनुभयो। उहाँको भनाइमा, “निर्णयविपरीत बोल्ने आदेश पालना गर्न सकिँदैन। विचार र मतप्रति सहिष्णुता हुनुपर्छ।”
उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किनु उपयुक्त नहुने बताउनुभयो। उहाँको भनाइमा, “उहाँले पूर्वराष्ट्रपतिको गरिमा राख्नुपर्छ। बरु गणतन्त्रलाई सुदृढ बनाउन त्यो भूमिकाबाट ठूलो योगदान दिन सक्नुहुन्छ।”
नेतृ उषा किरणले पार्टीमा वैकल्पिक नेतृत्वको पर्याप्त सम्भावना रहेको बताउँदै आगामी महाविधेशनमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध कोही न कोही उम्मेदवार बन्ने उल्लेख गर्नुभयो । उहाँले अघिल्लो महाधिवेशनमा उम्मेदवार बनेपछि पेलानमा पार्दै भिम रावललाई कारवाही गर्नु पार्टीको ठूलो भूल भएको दावी गर्नुभयो ।