काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र भइरहेको हस्ताक्षर अभियानकै कारणले तत्काल महाधिवेशन गर्नु पर्ने वातावरण बनेको दाबी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले हस्ताक्षर अभियानले पार्टीभित्र उर्जा, आशा र नयाँ विश्वास थपेको दावी गर्नुभयो ।
हस्ताक्षर अभियानले पार्टी फुटाउन लागेको आरोप लगाउनेहरुलाई उहाँले भन्नुभयो,, “५५ प्रतिशतले पार्टी रुपान्तरण र विषेश महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्, ५५ प्रतिशत भनेको बहुमत भन्दा बढी हो र बहुमतले फुटाउँदैन, बरु नेतृत्व गर्छ।” उहाँका अनुसार सो अभियानकै कारण पार्टी सभापति शेरबहादुर देउवाको हालैको सम्बोधनमा पनि परिवर्तन र आत्मसमीक्षाको प्रभाव देखिएको छ। उहाँले थप्नुभयो, “आलटाल गर्नेहरू पनि अब मंसिरभित्र नै महाधिवेशनको पक्षमा आएका छन्, एक वर्ष म्याद थप्नेहरू पछाडि हटिसकेका छन्।”
आचार्यले मंसिर भित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुने चेतावनी दिनुभयो। संसद पुनस्र्थापनाका बारेमा बोल्दै उहाँले “संसद प्रधानमन्त्रीले विघटन गरेको होइन, आन्दोलनले गरेको हो,” आचार्यले भन्नुभयो, “त्यस कारण संसद पुनःस्थापना हुने सम्भावना निकै कम छ।” उहाँले कांग्रेसलाई जनताको विश्वास फिर्ता दिलाउने दिशा यही हस्ताक्षर अभियानले देखाएको निष्कर्ष प्रस्तुत गर्नुभयो।