काठमाडौं। आगामी फागुन २१ गतेका लागी तय निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन राष्ट्रपतिको सक्रियता बढेको छ।निर्वाचनको म्याण्डेट लिएर बनेको वर्तमान अन्तरिम सरकारलाई समयमै निर्वाचन सम्पन्न गराउनका लागी सहजीकरण गर्ने उदेश्यले राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियता बढेको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले ल्याएको उथलपुथलले केपी ओली सरकार बहिर्गमन भएपछी बनेको पुर्वप्रधानन्यायाधिस सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालै प्रतिनिधीसभा विघटन गरी फागुन २१का लागी निर्वाचनको मिति घोषणा गरेपछी निर्वाचन आयोग र सरकारले नियमित काम कारबाही अगाडी बढाईरहेका छन् ।
तरपनि राजनैतिक दलहरुसँग संवादहिनताको अवस्था रहँदा निर्वाचनप्रति आशंका जन्मिन थालेपछी राष्ट्रपति पौडेलले सक्रियता बढाउनुभएको हो। सोहीअनुसार उहाँले अन्तरिम सरकार, राजनैतिक दलहरु, आन्दोलनरत पक्ष जेनजी समुह तथा निर्वाचन आयोगसँग परामर्शमा जुट्नुभएको छ ।
सोहीअनुसार हिजोमात्रै शितलनिवासमा बसेको अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीहरुसहितको सर्वदलिय बैठकमा राष्ट्रपति पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि चुनाव एकमात्र विकल्प भएकाले फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन दलहरूलाई आग्रह गर्नुभएको थियो। भने सरकारलाई पनि शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउने विश्वास आम नागरिकलाई दिलाउन सुझाव दिनुभएको छ ।
त्यसबखत दलका नेताहरूले भने चुनावमा जान तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संशय पैदा भएकोले सरकारले यसलाई हटाएर निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास दिलाउन सक्नुपर्ने बताएका थिए ।
त्यसलगत्तै आज जेनजी समुहका प्रतिनिधि र सरकारसँग सामुहिक छलफल थाल्नुभएका राष्ट्रपति पौडेल अकस्मात आँफै अस्वस्थ भएपछी बैठक दुईदिन पछी सारिएको छ। यद्यपी हिजोको बैठकले निर्वाचनका लागी सबै दलहरु र निर्वाचन आयोगदेखी सरोकारवाला सबै पक्ष तयार देखिएको सरकारले दाबी गरेको छ ।
निर्वाचनकै जिम्मेवारी लिएर बनेको सरकारले आन्दोलनको मर्म र भावनाअनुसार नै काम गरेको र निर्धारित समयमा निर्वाचन गराउन प्रतिवद्ध रहेको बताउँदै सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार प्रविधिमन्त्री जगदिश खरेलले जेनजीको माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण निर्माण गर्ने काममा सरकार प्रतिवद्ध रहेको बताउनुभयो।
सर्वदलीय बैठकपछि उहाँले राजनीतिक दलहरू पनि निर्वाचनमा भाग लिन तयार देखिएपछी निर्वाचनको वातावरण बन्दै गएको, आयोग पनि कार्यतालिका बनाएर अघि बढेको र सुरक्षा निकाय पनि उच्च मनोबलका साथ निर्वाचन गराउन अग्रसर रहेकोले देश, जनता र राजनीतिक दल तथा जेनजीको सहभागितामा निर्धारित समयमै चुनाव सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
यता, निर्वाचन आयोगले पनि तोकिएको मितिमा निर्वाचन गराउनका लागी सुरुकै दिनदेखी दिनरात नभनेर अहोरात्र खटेर काम गरिरहेको बताएको छ।हिजोमात्रै चुनावको कार्यतालिका स्वीकृत गरेको आयोगले आवश्यक काम कारबाही थप तिब्र पारेको बताएको छ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको र आवश्यकता अनुसार सबै पक्षसँग छलफल र परामर्श गरिरहेको बताउनुभयो ।
शुरुमा निर्वाचन व्यवस्थापनको काम गरेपछी अहिले मतदाता नामावली संकलनको काम र मतदाता शिक्षा कार्यक्रमलाई पनि सचेतनापूर्वक अघि बढाएको बताउँदै उहाँले समयमै निर्वाचन सम्पन्न हुने कुरामा विश्वस्त रहन आग्रह गर्नुभयो ।
देशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले थालेको आन्दोलनले ल्याएको उथलपुथलपछी उत्पन्न विसम परिस्थितिले केपी ओली सरकार बहिगर्मन भएसँगै बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै फागुन २१ मा निर्वाचन सम्पन्न गराउनु हो ।
यद्यपी तत्कालिन सरकारको नेतृत्वकर्ता एमालेसहितका दलहरु निर्वाचनका लागी आनाकानि गर्दै आएको देखिन्छ। तसर्थ ठुलो जनधनको क्षतिसँगै भएको जेनजी आन्दोलनलाई सस्थागत गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि चुनाव एकमात्र विकल्प भएकाले निर्धारित समयमा निर्वाचन गराउन जरुरी छ।
त्यसका लागी अझै पनि आफ्नो स्वार्थपूर्तिका लागी सिमित दलहरुले आनाकानि गर्न जरुरी छैन भने सरकार, दलहरु,निर्वाचन आयोग र सरोकारवाला पक्ष सबै जुटेर निर्धारित समयमै चुनाव सम्पन्न गरि आन्दोलनको मर्मअनुसार मुलुकमा भ्रष्टाचार अन्त्य, सुशासन कायम र पारदर्शी शासन व्यवस्थाको सुनिश्चीत गरी देशलाई निकास दिन जरुरी छ।