काठमाडौैं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको नेतृत्व परिवर्तनका लागि चलाइएको हस्ताक्षर अभियान तिव्र गतिमा चलिरहेको बताउनु भएको छ । बुधबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले दशैंको समयमा हस्ताक्षर अभियानमा केही सुस्त भएपनि अहिले तिव्र गतिमा अघि बढीरहेको बताउनु भएको छ । उहाँले देशभरबाट हालसम्ममा ५० प्रतिशतको हाराहारीमा हस्ताक्षर संकलन भएको बताउनु भएको छ ।
पछिल्लो समयमा मुलुकमा आएको राजनीतिक संकटको कारण निम्तिएको संकटको निकास खोज्नका लागि पार्टीभित्र हस्ताक्षर अभियान संचालन गर्नु परेको उहाँको भनाई छ । केन्द्रिय कार्यसमिती पूर्णरुपमा नेतृत्वका लागि असफल भएको बताउँदै उहाँले अव आफुहरुलाई केन्द्रीय कार्यसमितसँग विश्वास नरहेको बताउनु भएको छ । वर्तमान कार्यसमितीले संविधान, संसद जोगाउन नसकेको, सुशासन दिन नसकेको, लोकतन्त्रमाथी कालो बादल मडारिन थालेपछि र पार्टी पनि राम्रोसँग चलाउन नसकेपछि यो कदम चाल्नु परेको उहाँको भनाई छ ।
आगामी दिनमा पार्टीका गतिविधीहरुलाई चलायमान बनाउन, निर्वाचन लगायतका गतिविधिहरुलाई संचालन गर्न पार्टीको सर्वोच्च निकाय महाधिवेशन प्रतिनिधीका मार्फतबाट नयाँ नेतृत्वको खोजी थालिएको घिमिरेले बताउनुभयो । उहाँले महाधिवेशन प्रतिनिधीहरुले हस्ताक्षर गरेको र उक्त हस्ताक्षरलाई पार्टी कार्यालयमा दर्ता गराइने बताउनु भएको छ ।