काठमाडौं । आज, बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज विजयादशमीका दिन मान्यजनबाट लगाइएको हो । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइएको छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाईएको हो ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । आफन्तकोमा दसैँको दिन टीका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्म नै मान्यजनको हातबाट टीका लगाउन सक्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसादका रुपमा टीका ग्रहण गर्न सक्नेछन् ।
टीका लगाउँदा परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने चलन छ ।
आज दशमीको दिनलाई टीका भनिन्छ । नजिकको मन्दिरमा टीका चढाएपछि घरपरिवार तथा गाउँ छिमेकका जेष्ठताको क्रमअनुसार टीका र जमरा ग्रहण गरिएको छ । सो अवसरमा बुढापाकाले आर्शिर्वादको श्लोक उच्चारण गर्ने गर्नुहुन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दशैं पर्व सांस्कृतिक दृष्टिकोणले समन्वयताको प्रतीकका रुपमा रहेको छ । प्रोफेसर सुर्यप्रसाद ढुंगेलका अनुसार, दशैंमा टीकाको अत्यन्तै ठुलो महत्व छ । हामीले लगाउने टीका,जमरा र आशिर्वादको सन्देश अर्थपुर्ण छ ।
दशैं मनाउने चलन ठाउँअनुसार र जातिअनुसार केही भिन्न रहला तर समष्टिगत रुपमा टीका र जमरा लगाउने परम्पराले दशैंको महत्त्वलाई स्पष्ट पारेको छ ।
खास गरेर प्रथम दिनमा जमरा राखी नवमीसम्म चण्डीपाठ गर्ने तथा देवीको स्तुति गर्ने गरिन्छ । सप्तमीमा फूलपाती भित्र्याउने तथा अष्टमीमा विभिन्न हातहतियारको पूजा गर्ने र देवी देवताको नाममा कुखुरा, हाँस, बोका, राँगाको बली दिने यो परम्परा सर्वत्र प्रचलित छ । शक्ति आरधाना गर्न शक्ति सञ्चय गर्नका लागि दशैं पर्वलाई शास्त्रले नै व्याख्या गरेको छ ।
नेपालभर बसोबास गर्ने विभिन्न जातिहरुमा दशैंको महिमा र गरिमा त्यतिकै महत्त्वपूर्ण छ। उपत्यकाभित्र रहने नेवार जातिभित्र रहेका हिन्दुहरुले पूजापाठ गरी ब्राम्हण क्षेत्रीजस्तै टीका धारण गर्छन्। बौद्धहरुले टीका धारण नगरे पनि खड्गजात्रा निकाली आँगनघरमा पूजा गर्ने काम गर्छन । यस्तै मध्यपहाडी भेकका गुरुङ, मगरहरुमा पनि दशैं पर्वलाई उल्लासमय परम्परा मनाउने गरेको पाइन्छ ।
यस्तै पूर्व किराँतीमूलको समाजभित्र पनि दशैंको महत्त्व बढ्दो छ । त्यहाँ अझै पनि जिम्मावालकोमा कोसेली पात लिएर टीका थाप्ने चलन जीवितै छ । नेपालको तराईमा बसोबास गर्ने थारुजातिहरुमा दशैंलाई ठूलो महत्त्व दिएको पाइन्छ ।
प्रा.डा. बद्रीविशाल पोखरेलका अनुसार दशैं मानव सभ्यताको उषाकालदेखि सुरु भएको र नेपालीहरुका बीचमा एकता कायम गर्ने पर्व दशैं हो ।
नेपाल बाहिर जहाँ जहाँ नेपालीहरु बसोबास गरेका छन, त्यहाँ त्यहाँ नेपाली परम्पराअनुसार दशैं मनाउने गरिएको छ । बरु यो पर्व संसारका नेपालीलाई सांस्कृतिक डोरीले बाँध्ने सूत्र भएको छ । खास गरेर भारत, भूटान, बर्मामा बसेका नेपालीमा दशैंको महत्त्व बिर्सिएका छैनन् ।युरोप, अमेरिकालगायत विश्वभर छरिएर रहेका लाखौं नेपालीहरुले आफू अनुकूल दशैं मनाउने परम्परा रहिआएको छ । सांस्कृतिक धरोहरका रुपमा रहेको नेपालमा कयौं यस्ता सांस्कृतिक गरिमामय परम्परा छन, जसको आफ्नै महत्व र आफ्नै विशेषता रहेको पाइन्छ ।
वास्तवमा यही सांस्कृतिक विशेषताले गर्दा नै नेपालको नाम विश्व सामु परिचित रहेको छ । हाम्रा यस्ता सांस्कृतिक संवाहकमा हामीले मनाउँदै आएका चाडपर्वहरु नै पर्दछन्, दशैं यस्तो पर्व हो, यसमा अटुट आस्था र विश्वास रहेको पाइन्छ ।