काठमाडौं। जेनजी आन्दोलनले उत्पन्न विषम परिस्थितिपछी बनेको अन्तरिम सरकारप्रति यतिबेला अन्तराष्ट्रिय चासो बढ्दै गएको छ। गत भदौ २३ र २४ गते जेनजी समुहले गरेको आन्दोलनले केपी ओली नेतृत्वको सरकार बहिर्गमन भएसँगै पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारप्रति अन्तराष्ट्रिय सम्बन्धले चासो बढाएको हो ।
गत भदौ २३ गते भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलनमा उत्रिएको जेनजी समुहमाथी सरकारी दमन हुँदा केही प्रदर्शनकारीको ज्यान गएसँगै थप आक्रोशित आन्दोलनकारी भोलीपल्ट २४ गते संसद भवन, सिंहदरबार, सर्बोच्च अदालतदेखी सरकारी प्रसाशनिक नियाय तथा राजनैतिक दल तथा नेताहरुको निवास र अन्य उद्योग व्यसायका निकायमा आगजनी र तोडफोड सुरु भएपछी प्रधानमन्त्रीले राजिनामा दिएसँगै ओली सरकार बर्खास्त भएको थियो ।
त्यसपछी आन्दोलनकारी समुह जेनजीकै माग बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधी सभा विघटन गर्दै कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । जेनजी आन्दोलनले ल्याएको उथलपुथलले सरकार नै ढलेपछी बनेको अन्तरिम सरकारले ६ महिनाभित्र अर्थात फागुन २१ गते निर्वाचन गर्ने तयारीकासाथ नियमित काम कारबाही अगाडी बढाएसँगै अन्तराष्ट्रिय समुदायले चासो व्यक्त गर्न थालेका हुन् ।
अन्तरिम सरकारको प्रधानमन्त्री बनेलगत्तै कार्कीलाई फोन तथा सन्देशमार्फत खुलेरै बधाई दिएका छिमेकी देशलगाएत नेपालका अधिकांश मित्र राष्ट्रहरुले आसन्न निर्वाचन र अन्तरिम सरकारबाट हुने निर्णय तथा काम कारबाहीमा विषेश चासो राखेर नियालिरहेको जानकारहरुले बताउँदै आएका छन् । यसका लागी विषेश चनाखो बन्नुपर्नेमा पनि उनिहरुको जोड छ।
तत्कालिन सरकारमा ओली प्रधानमन्त्री रहँदा सवा वर्षसम्म सामान्य भ्रमणका लागीसमेत निमन्त्रणा नदिएको भारतले प्रधानमन्त्री कार्कीसँग गरेको आधाघण्टा लामो फोनवार्तापछी अर्को छिमेकी चीन, शक्ति राष्ट्र अमेरिका तथा अन्य मित्रराष्ट्र एवं द्वैत्य सम्वन्ध भएका मुलुकले यतिबेला अन्तरिम सरकारको कार्यसैलि, निर्णय, निर्वाचनको तयारीदेखी अघिल्लो सरकारका कारण उत्पन्न परिस्थितिसम्म नियालिरहेकोले यसमा सरकार सतर्क र सचेत बन्नुपर्नेमा उनिहरुको जोड छ।
यद्यपी सम्बन्धमा खासै फरक नपारेपनि नितिगत कुराहरुमा भने प्रभाव पार्नसक्ने जोखिम देखिन्छ। अन्तराष्ट्रिय समुदायले वर्तमान प्रधानमन्त्री कार्कीप्रति निकै ठुलो विश्वास गरेकोले यसलाई डगमगाउन नदिने गरि सरकारले काम गर्नुपर्ने बताउँदै कुटनितिज्ञ एवं पूर्वराजदुत विजयकान्त कर्णले छिमेकी भारत र चीनलगाएतका देशहरुसँगै अन्य मित्र राष्ट्रहरुले तत्कालैदेखी सदासहायता देखाएको बताउँदै विषम परिस्थितिमा रहेको देशलाई निष्पक्ष निर्वाचन सम्पन्न गरि भ्रष्टाचार नियन्त्रणमा कदम चाल्नेगरी लाग्नुपर्ने बताउनुभयो । यसले प्रधानमन्त्री कार्की र सरकारको विश्वसनियता बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो।
नेपाल अहिले इतिहासकै संकटापन्न अवस्थामा रहेको र कसैले पनि सोच्दै नसोचेको अवस्थामा सरकार नै परिवर्तन भएर अन्तरिम सरकार बनेको भन्दै यो सरकार कत्तिको बलियो बन्छ? कस्तो कार्यशैलि र कार्यसम्पादन गर्छ भन्नेमा अन्तराष्ट्रिय समुदाय र सम्बन्धको विषेश चासो रहेको राजनैतिक विश्लेषक शंकर भण्डारी बताउनुहुन्छ ।
वर्तमान परिस्थिति आउनुको कारण, यसको परिणामले ठुलो अर्थ राख्ने भन्दै उहाँले अघिल्लो सरकारको के कारणले यो अवस्था आयो ? यसले अन्तराष्ट्रिय सम्बन्ध र भुराजनैतिक मामलामा कस्तो प्रभाव पार्न सक्छ ? भन्नेतर्फ बर्तमान सरकार सचेत र सतर्क रहेर काम कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
अहिले विषम परिस्थितिमा बनेको सरकारको काँधमा ठुलो जिम्मेवारी रहेकोले वर्तमान अन्तरिम सरकारले विषेश ध्यान पुराउन जरुरी रहेको पूर्वराजदुत कर्णको भनाई छ। उहाँले यो सरकारले देशको परिस्थिति र जिम्मेवारी तथा दायीत्व प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
यसपटक विगतमा हुनेगरेकाजस्ता अनावश्यक विदेश भ्रमण बन्द गर्नुपर्नेमा जोड दिँदै उहाँले भ्रमणका लागी मित्र राष्ट्रहरुले निमन्त्रणा दिएपनि आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । यसतर्फ प्रधानमन्त्री र मन्त्रीहरु सचेत रहनेमा विश्वस्त रहेको बताउनुभयो।
मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी समुहले थालेको आन्दोलनले ल्याएको उपथलपुथलले सृजित विसम परिस्थितिमा अन्तरिम सरकारमा सहभागी प्रधानमन्त्री तथा मन्त्रीहरुले आन्दोलनको उद्देश्य र चाहनासँगै, ज्यान गुमाएका शहिदको बलिदानी तथा घाइतेको पीडा सम्झिएर आफ्नो दायीत्व र जिम्मेवारी पुरा गर्न जरुरी छ।
नेपालमा कसैले कल्पनै नगरेको उथलपुथलले सरकार नै परिवर्तन भएर चुनावी म्याण्डेट लिएर बनेको अन्तरिम सरकार कत्तिको बलियो बन्छ? के कसरी निर्वाचन सम्पन्न गर्न सक्छ? भन्नेमा अन्तराष्ट्रिय चासो बढ्नु स्वभाविक छ। तसर्थ वर्तमान सरकारले नियमित काम कारबाहीलाई प्रभावकारी बनाउँदै स्वच्छ, निस्पक्ष रुपमा निर्वाचन सम्पन्न गरी अन्तराष्ट्रिय विश्वसनियता बढाउन आवश्यक छ।