काठमाडौं । बडादशैं नजिकिएसँगै राजधानी लगायत अन्य ठाँउबाट घर फर्कने यात्रुहरुको संख्या बढ्दै गएको छ । तर यो समयमा बर्षा नरोकिदा यात्रा गर्ने आम नागरिकमा सडक सुरक्षा बिषयमा चासो र चिन्ता बढिरहेको छ । बर्षाले विभिन्न स्थानमा पहिरो जाँदा अहिले पनि सडक अवरुद्ध भएका छन् । जेनजीको आन्दोलनपछि र चाडपर्व नजिकिएपछि राजधानी छाड्ने यात्रु दिनहुँ बढिरहेका छन् ।
यस्तो अवस्थामा यात्रुहरूको सहज यात्राका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्थापनमा विशेष तयारी थालेको छ। यसका लागि मन्त्रालयमा आज सरोकारवाला निकायका प्रतिनिधिहरू सहित छलफल गरिएको छ । यात्रुहरूको चापलाई मध्यनजर गरी सडकको अवस्था, सवारी साधनको व्यवस्थापन, भाडादर, र सुरक्षा जस्ता विभिन्न पक्षमा छलफल गरिएको हो ।
मन्त्रालयले यातायात व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले २४ सै घण्टा यात्रुलाई सडक अवस्था र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनरस्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
विशेषगरी चाडपर्वको समयमा सडकमा हुने अवरोध, खाल्डाखुल्डी र अन्य समस्याहरूलाई समाधान गर्न तत्काल पहल गरिएको छ भने पानी परेर सडक बिग्रिएको अवस्थामा त्यसको व्यवस्थापन र मर्मतमा विशेष ध्यान दिइएको छ । यात्रुहरूको मागलाई सम्बोधन गर्न अपुग सवारी साधनको व्यवस्थापन गरिने भएको छ भने सम्भव भएसम्म नयाँ सवारी साधन थप गर्ने वा हाल रहेका साधनको पूर्ण उपयोग गर्ने बताइएको छ । यात्रुहरूलाई संयमित भएर यात्रा गर्न र नियमको पालना गर्न आग्रह गरेको पनि आग्रह गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताउनुहुन्छ । चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी उहाँले दिनुभएको हो । हाल मौसमका कारण सडक अवरुद्ध भएको उल्लेख गर्दै सचिव शर्माले सडक खुलाउन मन्त्रालय र सडक विभागको टिम सक्रिय रहेको पनि जानकारी गराउनु भएकोछ । पहिरो सक्रिय अवस्थामा रहेको बेलामा भने काम गर्न नसकिने उनको भनाइ थियो ।
बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताउनु भएको थियो । साथै यस्तो मौसमका बेला दुई तिन दिन भन्दा पहिले अग्रिम टिकट नहुने सिटौलाको भनाई छ ।
सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा आज सडक सुरक्षाका बिषयमा छलफल भएको हो । आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्नु हुन अनुरोध गरिएको छ । राजमार्ग सुरक्षाको सम्वन्धमा सवै प्रदेशहरुमा सम्पुर्ण व्यवस्था मिलाईएको दाबी गरिएको छ भने सडक सुरक्षा मजवुद भएको पनि भनिएको छ ।
त्यसैगरि आफुले यात्रा गर्नुभन्दा पहिले मौसम र सडकको अवस्था बुझ्न आग्रह गरिएको छ । साथै यात्रुले बाटोको अवस्थावारे बुझ्नका लागि १०३ अथवा १०० मा फोन गरि सम्पुर्ण जानकारी लिन अनुरोध गरिएको छ । सडकको बिषयमा यतिखेर बर्षाले गर्दा अवरोध भईरहेको अवस्था हो । यसपालिको बडादशैंमा टिकाको दिनसम्म पनि पानी पर्न सक्ने भनिएको छ । तर धेरै ठुलो बर्षा भने नहुने पनि मौसम विभागले भनेको छ ।
यसैगरि, दसैं अवधिभर बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा ठूला भारबाहन सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र बाहिर जान दिने, दशैंपछि भने पुनः प्रवेशको व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गरिने भएको छ ।
खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीहरू ढुवानी गर्ने सवारी साधनहरूलाई निरन्तर आवागमन हुने व्यवस्था गरिने छ। सरोकारवालाले चाडपर्वको अवसरमा गरिने यात्राहरूलाई सुरक्षित र आनन्ददायी बनाउन सबै नागरिकहरूको साथ र सहयोगको अपेक्षा पनि गरेका छन् । उपत्यकाका बिभिन्न नाकाबाट यसअघिका बर्षको तुलनामा यस बर्ष घटस्थापना अघि नै धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
सधैजसो सडकको अवस्था र सवारी साधनको अभाव र सम्वन्धीत सरोकारवालाको लापरवाहिका कारणले दुःख झेल्दै आएका यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनु सवैको दायित्व हो । त्यसैले, यात्रा गर्दा सुरक्षित तवरले गर्नका लागि सवै चनाखो बनेर यात्रा गरौं ।