काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ २४ को जेन–जी विद्रोहपछिको परिस्थितिमा प्रधानसेनापति अशोक सिग्देलसँग वार्ता गरेर राष्ट्रपति र संविधान जोगाएको बताउनु भएको छ। संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले जेन–जी आन्दोलनलाई जनयुद्धसँग जोड्नु भएको हो ।
उहाँले जनयुद्धमा सहभागीमध्ये झन्डै ९० प्रतिशत जेन–जी पुस्ता रहेको स्मरण गर्नुभयो । प्रचण्डले ठूला दलहरू कांग्रेस र एमालेको अहङ्कारले देशलाई आजको संकटपूर्ण अवस्थामा पु¥याएको दाबी गर्दै संविधान निर्माणका कठिन क्षणहरू स्मरण गर्नुभएको थियो । उहाँले भूकम्पपछिको पुनर्निर्माण र संविधान निर्माणलाई अघि बढाउन विपक्षी दलहरूसँग गरेको सहकार्य, प्रधानमन्त्री पद अफर गर्नुपरेको प्रसंग र संविधान जोगाउन रातभर राष्ट्रपतिसँग गरेको छलफलसमेत उल्लेख गर्नुभएको छ ।
आगामी ६ महिनाभित्र निर्वाचन गर्न सरकारले घोषणा गरेको प्रसङ्गमा प्रचण्डले त्यसलाई संवैधानिक निकासको अवसरका रूपमा चित्रित गर्दै प्रचण्डले सबै राजनीतिक शक्ति र जनताले एकजुट भएर निर्वाचन सम्भव गराउनुपर्नेमा जोड दिँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको बाटो संवैधानिक रूपमा खोलिनुपर्ने चाहना व्यक्त गर्नुभयो ।