काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताउनु भएको छ । नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा सभामुख घिमिरेलेले सो कुरा बताउनु भएको हो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’ जेनजीको आन्दोलनमा घटेका घटना ज्यादै दुःखद रहेका सभामुख घिमिरेले बताउनुभयो । अब अहिलेको परिस्थितिबाट उठेर ठिक ढङ्गबाट अगाडि जानु सबैको दायित्व रहेको घिमिरेले बताउनुभयो ।
अन्तरिम सरकारले अहिले देखिएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको बताउँदै यस घटनाको समीक्षा गरेर देशलाई उठाउनका लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।