Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण, आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा, ध्वस्त पारिएका संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग आग्रह (खास खबर)

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण, आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा, ध्वस्त पारिएका संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग आग्रह (खास खबर)

  • आइतवार, भाद्र २९ २०८२

  • 681
    SHARES

  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण, आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा, ध्वस्त पारिएका संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग आग्रह (खास खबर)

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए । जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

    कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीले लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीे जेन–जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना देशविरुद्वको अपराधिक कार्य भएको बताउनुहुन्छ ।

    आज सिंहदरबारमा पदभार ग्रहणपछि सम्बोधन गर्दै उहाँले यी घटनाहरूको छानविन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याएर दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो। प्रधानमन्त्री कार्कीले सबै पक्ष मिलेर मुलुकलाई सही दिशातर्फ अघि बढाउने प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुहुन्छ ।

    प्रदर्शनका नाममा मुलुकको सचिवालय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत सहित व्यापारिक कम्प्लेक्स र निजी सम्पत्तिमाथि आतंक मच्चाइएको विषयमा सरकारले छानबिन गर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री कार्कीले सबै कुराहरु सिध्याएर देशलाई शून्यतामा पु¥याइएको टिप्पणी पनि गर्नुभएको छ । कार्कीले यो घटना योजनावद्ध षडयन्त्र हो कि भन्ने आफूलाई आशंका रहेको बताउनुभयो।

    ‘२७ घन्टाको आन्दोलनबाट जनधनको व्यापक क्षति भएको छ । सबै सरकारी विवरणहरू जलेर नष्ट भएका छन् । नेपाली नै भएर यो काम गरेको हो भने कसरी नेपाली भन्ने ?’प्रधानमन्त्री कार्कीले अत्यावश्यक संस्थाहरुमा छानिछानि प्रहार भएकाले आशंका उत्पन्न भएको पनि बताउनुहुन्छ । ‘प्रहरी, अदालत, सिंहदरबारजस्ता देशका अत्यावश्यक संस्थाहरुमाथि छानि छानि प्रहार भयो । मलाई त योजनतावद्ध रुपमा षडयन्त्र भएको हो कि जस्तो लागेको छ,’ प्रधानमन्त्री कार्कीले यो सबै घटनाको छानबिन हुनुपर्ने बताउनुहुन्छ ।

    प्रधानमन्त्री कार्कीले गत साता चलेको जेन–जी प्रदर्शन क्रममा ध्वस्त पारिएका संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग आग्रह पनि गर्नुभएको छ । कार्कीले आफ्नै मुलुकका जनताको पहलमा संरचना तयार गर्न सकिने बताउनुभयो । किन हामी आफ्नै तर्फबाट आफ्नै मुलुकका जनताबाट पहल गरेर ती कुराहरू पूरा किन नगर्ने ? सानोतिनो भए पनि किन हामी बाँसका भाँटा जोडेर भए पनि प्रहरीको बीट किन नबनाउने ? एउटा सस्तो हामीलाई कामचलाउ भए त पुग्छ । त्यो हामी किन नगर्ने ?’, प्रधानमन्त्री कार्कीले भन्नुभयो । हामीलाई साथ दिनुहोस् । चुनौति सवै मिलेर पुरा गर्नुपर्छ ।

    सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको छ । त्यस्तै मृतकका परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको छ । मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका सबै घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ। यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ ।

    जेनजी आन्दोलनमामृतक सबैको अझै सनाखत हुन सकेको छैन। जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ। आज बिहान मात्रै चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाको शव भेटिएको प्रहरीले थियो । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च पनि सरकारले नै ब्यहोर्ने भएको छ ।

    मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पु¥याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि गर्ने नयाँ सरकारको निर्णय छ । त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएकाहरू अपांगको परिभाषाभित्र परेको खण्डमा पछिसम्म उपचारको व्यवस्था पनि सरकारले गर्ने भएको छ ।

    आज मात्र पदभार ग्रहण गर्नुभएकी प्रधानमन्त्री कार्की एक्लैबाट सबै कार्यसम्पादन सम्भव नहुने कारण छिटै केही सीमित संख्यामा भए पनि मन्त्री नियुक्त गर्नुपर्ने दबाब छ । तर अहिलेसम्म नयाँ सरकारको मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।


    आइतवार, भाद्र २९ २०८२०७:५९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij