काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामति कर्मचारीहरू सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न प्रतिबद्ध हुनुपर्ने बताउनु भएको छ । निजामति सेवा दिवसको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले सो कुरा बताउनु भएको हो ।
उहाँले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामति प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका बहन गर्नुपर्ने बताउनुभयो । नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेका सन्दर्भमा निजामति सेवाले सोहीअनुरूप आफूलाई समायोजन, अनुकूलन र परिष्कृत गर्नु अपरिहार्य रहेको सिंहको भनाइ छ ।
उहाँले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको बताउनुभयो ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले तहगत प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक सङ्घीयतालाई सुदृढ तुल्याउन कोशेढुंगाको रूपमा अपेक्षा गरिएको निजामति सेवासम्बन्धी विधेयक कर्मचारीहरूको माग र भावना समेट्दै राजनीतिक दलहरूको सहमतिमा संसदबाट छिट्टै पारित हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।