काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको बताउनु भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कोहीकसैसँग सम्झौता नगरी देश र जनताका पक्षमा उभिएकाले पार्टीप्रति आमजनताको विश्वास बढेको बताउनुभयो ।
एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले हामी सरकारमा छौँ, जनताकाबीच पुगी अझ विश्वास जित्न सक्यौँ भने ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन । जनताकामाझ गई सक्रिय भएर काम गरौँ ।’
‘सामाजिक न्याय र समानताका लागि हामी अभियानकर्मी हौँ, समाजमा परिवर्तन भएको छ, सामाजिक न्याय, समानता र विकासको अवस्था हिजोको जस्तो छैन । हाम्रो लक्ष्य समाजवादतर्फ हो । अपेक्षा गरिएजस्तो विकास भएको छैन होला । त्यसैले त परिवर्तनकारी हस्तक्षेप गर्दै हिँडेका छौँ । देशमा परिवर्तन ल्याउनका लागि हिँडेका हौँ’, उहाँले भन्नुभयो ।
उहाँले पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्न सक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको बताउनुभयो ।