काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताउनु भएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो ।
उहाँले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताउनुभयो । देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरूलाई सभापति देउवाले निर्देशन दिनुभएको छ । निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत कुरा भएको उल्लेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताउनुभयो ।
सभापति देउवाले भन्नभयो, ‘संसद्मा सबैभन्दा ठुलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईँहरूका कुराहरू लागू गर्न सक्दछौँ । हामी अरू पार्टीलाई पनि सहभागी गराउन सक्छौँ । कर्मचारीको हक हित हेर्ने हो । कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन । देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो । कुनै पार्टीको लागि काम गर्ने होइन । चुनावमा कसलाई भोट दिने कसलाई नदिने उसको कुरा हो त्यो । तर पार्टीको आदेश मान्ने होइन ।’
सभापति देउवाले सरकारी सेवाहरू चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले २१ औँ शताब्दीको आकाङ्क्षाअनुरूप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने समेत बताउनुभयो ।