काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका छन् । शुक्रबारदेखि सुरू हुन लागेको एमालेको दोस्रो विधान महाधिवेशन अगाडि बिहीबार थापाले आफ्नो फरक मत दर्ता गराउनु भएको हो ।
‘मैले मेरो फरक मत दर्ता गराउन अहिले पार्टी केन्द्रीय कार्यालयमा छु’, उहाँले भन्नुभयो ‘पार्टी कार्यालयम दर्ता भइसकेपछि मेरो फरक मत सार्वजनिक गर्नेछु । पार्टीभित्र बहसका लागि यो फरक मत दर्ज गराएको हुँ ।’
उहाँले यसअघि नै वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै अघि सारेको ‘पार्टी जीवनको लोकतान्त्रीकरण’सम्बन्धी दस्तावेजमा उल्लेखित कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षे उमेर हद यथावत हुनुपर्ने मत राखेका छन् । थापाले आजीवन पदमा बस्ने प्रवृत्ति र विधिविपरीत निर्णय गर्ने नेतृत्वको प्रयासको कडा आलोचना गर्दै आएका थिए । उहाँले फरक मतमा पनि त्यही कुराको विस्तृत व्याख्या गर्नुभएको छ ।
उहाँले गत साउनमा भएका स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली आफैंले प्रस्तुत गरेको नीति र दस्तावेजलाई मिच्दै अघि बढ्न खोजेको आरोप लगाउनु भएको थियो । अब उहाँको उक्त फरक विचारलाई एमालेले पनि स्वीकारेर विधान महाधिवेशनमा छलफलका लागि लाने भएको हो ।
‘७० वर्षे उमेर हद र दुई कार्यकाल वैज्ञानिक’
थापाले वर्तमान अध्यक्ष ओलीले नै प्रस्तुत गरेको ७० वर्षे उमेर हद र दुई कार्यकाल वैज्ञानिक रहेको बताउँदै विधानबाट त्यसलाई हटाउन नहुने बताइरहनु भएको छ।
उहाँका अनुसार पार्टीको संगठनात्मक प्रस्तावको पृष्ठ २३, ३० र ३१ मा यो कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ, जसअनुसार वडास्तरदेखि केन्द्रसम्म यही मापदण्ड लागू हुने भनिएको छ।
थापाले एमालेभित्र विधि र संस्थागत निर्णयहरूलाई कमजोर पार्ने प्रयासहरू भइरहेको संकेत गर्नुभएको छ । भरतमोहन अधिकारी, अमृतकुमार बोहोरा, मोदनाथ प्रश्रित जस्ता वरिष्ठ नेताहरूमा उमेर हद लागू गरिसकिएको अवस्थामा त्यसलाई निरन्तरता दिनुपर्ने थापाको तर्क छ ।