काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतसँगको सम्झौताबारे नेपालको अडानमा चीन पन्छिन खोजेको गम्भीर आशंका गरेको छ । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले चिनियाँ राष्ट्रपतिले लिपुलेकबारे पन्छिनेगरी जवाफ दिएको बताउनु भयो ।
सांसद बडूले भन्नुभयो, ‘यस संवेदनशील विषयमा मित्रराष्ट्र चीनका राष्ट्रपतिले यो सीमा विवाद नेपाल र भारतले दुई पक्षले समाधान गर्ने विषय हो, यसमा आफू पक्ष वा विपक्षमा संलग्न नहुने भन्दै स्पष्ट पन्छिने गरी दिनुभएको जवाफ कदापि सकारात्मक मान्न सकिँदैन।’
यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा प्रधानमन्त्री ओलीले लिपुलेकबारे विगतदेखि भइरहेको कुटनीतिक पहल र प्रेषित प्रोटेस्ट नोटहरू समेतको पृष्ठभूमिमा नेपालको प्रष्ट कुरा राखेको बडूले बताउनुभयो ।