काठमाडौं । भारतमा लगेर नेपालीको मिर्गौला (किड्नी) बेच्ने गिरोहका मुख्य नाइकेसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगातका जिल्लामा पुगेर विभिन्न प्रलोभनमा पारी भारतमा लगेर किड्नी बेच्ने उक्त गिरोहबारे प्रहरीले आइतबार जानकारी गराएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नाइके भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो । उक्त समूहका नाइके श्याम कृष्ण भण्डारी र सहयोगी सुजन भारती भारतबाट नेपाल आउने क्रममा नाकाबाटै पक्राउ परेका छन् ।
उक्त समूहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ४ वटा मुद्दा दर्ता भएका छन् भने ५ जना पीडितहरूले जाहेरी दिएका थिए । त्यसपछि ‘अप्रेसन लाइफ फिल्ड’ नाम दिएर ब्यूरोले अनुसन्धान अघि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा किड्नी दिन तयार हुने मानिसलाई गाडीको व्यवस्थापन आफैं गरेर भारतको नयाँदिल्लीसम्म पु¥याउने गरेको खुलेको छ । उक्त कार्यमा संलग्न अन्य तीन जना गत साउन २० गते पक्राउ परेका थिए । पीडितले दिएको जाहेरी र पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो ।