काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले तीनै तहका सुरक्षाकर्मी परिचालन गर्ने बताउनु भएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरूलाई समेत परिचालन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले जानकारी दिनुभयो ।
शुक्रबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोग नियन्त्रणका लागि तीव्र ढंगले प्रयास भइरहेको भन्दै त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताउनुभयो । ‘स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीका नर्स, डक्टर र उपकरणको प्रयोग गर्ने आजै मात्र मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ, र यस रोगलाई सकेसम्म छिटो नियन्त्रण गर्न, बिरामी निको पार्न र बढ्न नपाओस् भनेर तीव्र ढंगले प्रयास भएको छ,’ उहाँले भन्नुभयो ।
वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको उहाँले बताउनुभयो । ‘स्वास्थ्य मन्त्रालयको अगुवाइमा सकेसम्म रोक फैलिन नपाओस् तत्काल निदान गर्न सकिओस् र तत्काल उपचार गरेर निको पार्न सकिओस् र रोकथाम पूर्णरूपमा गर्न सकिओस् भन्ने कुरामा ध्यान गएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले हैजा र झाडापखालाका औषधी सरकारले निःशुल्क उपलब्ध गराइरहेको जानकारी दिनुभयो । नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीहरूको निःशुल्क उपचार भइरहेको उहाँले बताउनुभयो । वीरगञ्जमा अहिलेसम्म हैजा र झाडापखाला संक्रमित हुनेको संख्या ६२४ पुगेको र त्यसमध्ये ४३७ जना निको भएर घर फर्किएको जानकारी उहाँले संसदमा गराउनुभयो ।