काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिनुभएको छ । शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पाँच दिने चीन भ्रमणबारे विस्तृत जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणमा भदौ १४ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको बताउनुभयो ।
नेपाल, सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको उहाँले बताउनु भएको छ। तर ओलीले नेपाली भूमि लिपुलेक हुँदै चीन र भारत व्यापारिक मार्ग खोल्ने गरी गरेको सहमतिबारे संसद्मा मौनता साँध्नुभएको छ । उहाँले चीन भ्रमणको लामो व्याख्या गरेपछि वीरगञ्जमा महामारीको रुप लिएको हैजा नियन्त्रणको प्रयासबारे संसद्लाई जानकारी दिनुभएको थियो ।
तर संसद् बैठकमा पनि सत्ता र प्रतिपक्षी दलका सांसदहरूले उठाएको लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सहमतिबारे ओलीले कुनै जवाफ दिनुभएन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र हान चङसँग भेट हुने जानकारी दिनुभयो । साथै उहाँले विभिन्न मित्र राष्ट्रका सरकार प्रमुखसँग समेत वार्ता गर्ने बताउनुभयो ।
भदौ १६ गते सुरु हुने एससीओको उद्घाटन कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले अन्तिम दिन (भदौ १८) चीन सरकारले आयोजना गर्ने फासीवादविरुद्धको विश्व युद्ध र जापानमाथि चीनको जितको उत्सव अवलोकन गर्ने बताउनुभयो ।
शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले लिपुलेक प्रकण उठाउनु भएको थियो । तर ओलीले चीन जाँदा यसबारे कुरा गर्ने–नगर्ने केही नभनी आफ्ना भनाइ राखेर सम्बोधन टुङ्ग्याउनु भएको छ ।