काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो । समितिबाट पारति विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् ।
माओवादीले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई उपसमितिले गरेको निर्णय बमोजिम समावेश गर्नुपर्ने लगायत ५ बुँदे फरक मत राखेको छ । माओवादीका सांसदहरू देवेन्द्र पौडेल, महेन्द्रराय यादव, रेशा शर्मा र ज्ञानु बस्नेत सुवेदीले फरक मत पेस गर्नुभएको हो ।
यसैगरी रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ । रास्वपाकी सांसद सुमना श्रेष्ठले विधेयकमा पार्टीको तर्फबाट फरक मत राख्नु भएको हो ।
राप्रपाले भने निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको छ । राप्रपाकी सांसद बिना जैसवालले पार्टीको तर्फबाट फरक मत पेस गर्नुभएको हो । फरकमत सहित पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेस हुनेछ ।