काठमाडौं । भारत भ्रमणका निम्ति प्रधानमन्त्रीको निकै समय लागेको विषयमा चासो र चर्चा भईरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा आएको छ । भ्रमणको मितिबारे भने दुवै पक्षले आधिकारिक रुपमा अहिलेसम्म घोषणा गरेका छैनन् ।
दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिश्रीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको हो ।
सचिव मिश्रीले सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटका क्रममा निमन्त्रणा दिनुभयो । केपी शर्मा ओली प्रधानमन्त्री बनेको १३ महिनापछि प्रधानमन्त्री ओलीले भारत भ्रमणको निमन्त्रणा पाउनु भएको हो । प्रधानमन्त्री ओलीलाई भारतको निमन्त्रणा किन आएन भन्ने जिज्ञासा र चासो चौतर्फी थियो । यसैबिचमा भारतबाट निमन्त्रणा आएको छ ।
कूटनीतिज्ञ मोहनकृष्ण श्रेष्ठ नेपाल र भारतबीचको बहुआयामिक सम्वन्धमा निमन्त्रणा आउन किन ढिला भएको भन्दै अलिकति असजिलो महसुस भएका बेला निमन्त्रणा आउनु सकारात्मक भएको टिप्पणी गर्नुहुन्छ । समय लाग्नुमा केहि कारण रहेको हुनसक्ने तर्क उहाँको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली यसपटक भारत भ्रमणमा नेपाली सेनाको विशेष विमानबाट जाने तयारी भएको छ । परम्परागत भ्रमणभन्दा फरक यसपटक दुवै देशका प्रधानमन्त्रीबीच बोधगयामा भेटवार्ता हुने भएकाले काठमाडौंबाट सिधै सेनाको विमानमा जाने तयारी भएको हो ।
प्रधानमन्त्री ओली र मोदीबीच गौतम बुद्धले बोधिसत्व प्राप्त गरेको ऐतिहासिक तथा धार्मिक शहर बोधगयाको महाबोधी सांस्कृतिक केन्द्रमा द्विपक्षीय वार्ता तथा सम्झौताहरू हुने तयारी छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच रहेका समस्याबारे नेपालले आफ्ना कुरा राख्न सक्नुपर्नेमा श्रेष्ठ जोड दिनुहुन्छ ।
दुई देशले समस्यालाई अल्झाएर नराखि संवेदनशिलता बुझेर मिलाएर जानुपर्नेमा कूटनीतिज्ञ श्रेष्ठ जोड दिनुहुन्छ । नेपाल र भारतबीच राम्रो सम्वन्ध रहेको र समस्यालाई अल्झाएर नराखी अगाडि बढ्न उहाँको सुझाव छ ।
यता,भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको बोधगयामा हुने भेटले दुई देशबीचको सम्बन्धमा चिसोपना आएको हो कि भन्ने आशंकालाई चिर्न सफल हुने बताउनुहुन्छ । ओली–मोदीको बोधगयामा हुने भेट सम्बन्ध सुदृढ गर्नका लागि कोशेढुङ्गा सावित हुने भनाई मन्त्री दाहालको छ ।
भारत र नेपालको जुन सम्बन्ध छ । त्यसमा चिसोपना आएको हो कि भन्ने जिज्ञाशा लागिरहेको अवस्थामा अब सम्बन्धलाई सुमधुर बनाउने हो । कुन प्रोजेक्ट के गर्ने, एक आपसमा के आदान–प्रदान गर्ने भन्ने कुरा त अर्को विषय भयो । वार्ता सौहार्दपूर्ण हुनेछ,’ मन्त्री दाहालको भनाई छ । सामान्यतया नेपालका प्रधानमन्त्रीले कार्यभार सम्हालेको थोरै समयमै भारत भ्रमण गर्ने चलन थियो । तर यसपालि ओलीको भ्रमणका निम्ति निकै समय लागेको विषयमा चासो र चर्चा थियो ।
भदौ ३१ गते प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भनी यसअघि नै समाचार सार्वजनिक भइसकेको छ तर कूटनीतिक प्रचलनअनुरूप भ्रमणको मितिबारे भने औपचारिक घोषणा भइसकेको छैन । प्रधानमन्त्री ओली दुई दिनसम्म भारत भ्रमणमा रहने बताइएको छ । यद्यपि भ्रमण लम्ब्याउने बिषयमा कुराकानी भइरहेको समेत स्रोतले दाबी गरेको छ ।