काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा अत्यधिक अनुदान रहेका कारण उपलब्ध बजेटले सम्बोधन गर्ने गरी मल ल्याउन कठिन भएको बताउनुभयो । उहाँले अहिले युरिया मलमा ८२ प्रतिशत, डिएपीमा ८४ र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी दिनुभएको हो ।
हाल वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको उहाँले बताउनुभयो । खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
मन्त्री अधिकारीले आफू मन्त्रालयमा आएपछि मल आपूर्तिलाई सहज बनाउन प्राथमिकताका साथ काम गर्दै आएको बताउँदै उहाँले मलको आपूर्ति तथा वितरण कार्यलाई सहज बनाउन कानुनी तथा प्रक्रियागत कार्यलाई सहज बनाइएको र समयमा नै मल ल्याउन सार्वजनिक खरिद नियमावलीमा उचित व्यवस्था गरिएको धारणा राख्नुभएको छ ।