काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य हुने बताउनु भएको छ ।
बिहीबार पर्वतारोहण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्व तयारी छलफल कार्यक्रममा बोल्दै उहाँले पर्वतारोहणको इतिहासलाई दस्ताबेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
मन्त्री पाण्डेले जलवायु परिवर्तनका असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको उल्लेख गर्दै हिमालकै कारण नेपाल चिनिने र त्यसैले यसको संरक्षण हाम्रो दायित्व भएको बताउनुभयो । उहाँले पर्यटन प्रहरीको सेवा, आरोहण संघको योगदान र विदेशी पाहुनासँगको व्यवहारबाट नेपालको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
क्यासिनोबारे समाजमा बनाइएका नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अस्वस्थ प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थका कारण मुलुक बदनाम हुने घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार, कुनै पनि क्षेत्रलाई अघि बढाउन सैद्धान्तिक र नीतिगत आधारमा कानुन निर्माण आवश्यक हुन्छ । निषेधित क्षेत्र घोषणा गर्ने समयमा रहेको वास्तविकता बुझ्नुपर्ने र त्यसको मार अझै पनि परिरहेको बताउनुभयो ।