काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नौ महिनामा दोस्रो पटक उत्तरी छिमेकी चीन भ्रमणमा जानुहुने भएको छ । तेस्रो कार्यकालका लागि २०८१ असार ३१ गते प्रधानमन्त्री बनेका ओली २०८१ मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जानु भएको थियो । त्यसको ठ्याक्कै नौ महिनापछि यही भदौ १४ गते ओली दोस्रो पटक चीनतर्फ उड्न लाग्नु भएको हो ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले संघाई कोअपरेशन अर्गानाइजेशन (एससीओ) को सम्मेलनमा भाग लिन ओली चीन जाने बताउनु भएको छ । उहाँका अनुसार ओली भदौ १४ मा चीन गएर भदौ १८ गते फर्किने कार्यक्रम छ ।
एससीओको सम्मेलनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले भदौ १६ गते तियान्चिन सहरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जाने पक्का भइसकेको छ । प्रधानमन्त्री मोदी सन् २०१८ मा भएको गलवान झडपपछि पहिलो पटक चीन यात्रामा जाँदै हुनुहुन्छ ।
ओलीका लागि चीनमै भारतीय समकक्षी र चिनियाँ राष्ट्रपति दुवैलाई भेट्ने गतिलो अवसर एससीओको सम्मेलन बन्नेछ । उक्त सम्मेलनमा रसियासहित अन्य २० भन्दा धेरै देशका राष्ट्र र सरकार प्रमुख सामेल हुँदैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर ट्यारिफको तनाव दिइरहेका बेला यो सम्मेलन हुन लागेको हो । खासगरी ब्रिक्स देशहरू अमेरिकाविरुद्ध एकजुट भएकाले बेला चीनमा हुन एससीओ सम्मेलनलाई अर्थपूर्ण मानिएको छ । सम्मेलनमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन आउने–नआउने टुंगो भइसकेको छैन ।
ओलीका लागि दुई ठूला छिमेकीको नेतृत्वलाई एकै मञ्चमा भेट्ने अवसर जुरेको छ । उक्त सम्मेलनमा भाग लिएर भदौ १८ मा फर्किएपछि ओली भारत कार्यक्रम रहेको छ । प्रधानमन्त्री भएयता ओलीले भारतको औपचारिक भ्रमण गर्न पाउनु भएको छैन् ।